काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न निर्देशन दिएका छन्। बुधबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा उनले महाधिवेशनपछि पार्टी एकताबद्ध रहेको भन्दै गुटगत भाष्य सिर्जना नगर्न आग्रह गरेका हुन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार लामिछानेले “महाधिवेशनपछि पार्टीभित्र कुनै गुट–उपगुट छैन। हामी सबै रास्वपाका हौँ, त्यसैले कुनै समूहको नाममा भाष्य बनाउन आवश्यक छैन,” भन्ने धारणा राखेका थिए।
बैठकमा ५१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको विषयमा पनि छलफल भएको थियो। यस सम्बन्धमा वरिष्ठ नेता बालेन शाहसँग नियमित छलफल भइरहेको र आगामी १० देखि १५ दिनभित्र क्रमशः मनोनयन प्रक्रिया अघि बढाइने जानकारी सभापति लामिछानेले दिएका थिए।
केन्द्रीय समिति बैठकमा हालै सम्पन्न महाधिवेशनको विभिन्न पक्षबाट समीक्षा गरिएको थियो। साथै, पार्टी विधान र कार्यविधि संशोधनसम्बन्धी नीतिगत निर्णयसमेत गरिएको रास्वपाले जनाएको छ।
केन्द्रीय सदस्य जगदीश खरेलका अनुसार वरिष्ठ नेताका रूपमा बालेन शाहलाई मनोनयन गरिएको छ। दैनिक कार्य सञ्चालनलाई प्रभावकारी बनाउन निर्वाचित पदाधिकारीहरूको सचिवालय पनि गठन गरिएको छ।
सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य तथा उपमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्। बाँकी सदस्यहरू क्रमशः थपिने खरेलले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। खरेलले सरकार र पार्टीबीच कुनै मतभेद नरहेको दाबी गर्दै पार्टीभित्र हुने छलफललाई गुटबन्दीसँग जोडेर नहेर्न आग्रह गरे।
उनले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको उल्लेख गर्दै सत्ता पक्ष र प्रतिपक्षबाट एउटै सन्देश प्रवाह होस् भन्ने पार्टीको उद्देश्य रहेको बताए। साथै, उक्त बैठकमा सरकारका वरिष्ठ मन्त्री डा. स्वर्णिम वाग्ले सहभागी भएकाले यस विषयमा अनावश्यक शंका नगर्न पनि उनले आग्रह गरे।


