काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो।
बैठकले पार्टी विधानअनुसार सभापति रवि लामिछानेको नेतृत्वमा आठ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ। सचिवालयमा उपसभापति डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहेका छन्।
रास्वपाले प्रथम महाधिवेशनको समीक्षा गर्दै आगामी साङ्गठनिक तथा रणनीतिक योजनासहित ११ बुँदे निर्णय सार्वजनिक गरेको छ।
स्थानीय निर्वाचनका लागि ‘क्यान्डिडेट क्लब’
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य र सक्षम उम्मेदवार छनोटका लागि आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ को आवेदन खुला गर्ने निर्णय गरिएको छ।
यस्तै, सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादन प्रभावकारी बनाउन प्रत्येक महिनामा कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था गरिने भएको छ।
बैठकले पार्टीका विभिन्न विभागको नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य र सांसदबाट स्पष्ट लक्ष्यसहितको छ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि गरेको छ।
नागरिक गुनासो सुन्न दैनिक प्रतिनिधि खटाइने
नागरिकका गुनासा सुनुवाइ र सहजीकरणका लागि केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा दैनिक रूपमा पार्टी प्रतिनिधि उपस्थित रहने व्यवस्था मिलाइएको छ। यसअनुसार केन्द्रीय र प्रदेश कार्यालयमा दुई–दुई जना तथा जिल्ला कार्यालयमा एक जना प्रतिनिधि अनिवार्य रूपमा उपस्थित रहनेछन्।
सामाजिक सञ्जालमा संवेदनशील सामग्री सेयर नगर्न निर्देशन
रास्वपाले पार्टीका सदस्यहरूलाई आत्महत्या वा आत्मदाहजस्ता दुःखद घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न निर्देशन दिएको छ। सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको पार्टीले जनाएको छ।
बैठकले आगामी अन्तर्राष्ट्रिय युवा दिवस २०२६ भव्य रूपमा मनाउन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। साथै, सुनसरीलगायतका जिल्लामा भएका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।


