चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ।
यसअघि सोमबार बिहान ८:३० बजेबाट सुरु हुने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलो भएको हो। रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरूको नामावली रुजु गर्न र स्वचालित प्रणालीमार्फत महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्न समय लागेकाले बन्दसत्र ढिलो भएको हो।
हाल चितवनमा प्रतिनिधि परिचयपत्र वितरण कार्य तीव्र गतिमा भइरहेको र सो प्रक्रिया पूरा भएपछि पूर्वनिर्धारित तालिकाअनुसार बन्दसत्रका बाँकी कार्यक्रम अघि बढाइने जनाइएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवातमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमा छलफल हुनेछ।
त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। सहमहामन्त्री विपीनकुमार आचार्यले विधान संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ तथा राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यी सबै प्रतिवेदन र प्रस्ताव पारित भएपछि मात्रै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् र त्यसमा विस्तृत छलफल हुने छ।
सभापति लामिछानेले सो क्रममा अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै महाधिवेशन आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने प्रस्ताव पनि अघि सार्ने तयारी गरेका छन्।
त्यसपछि निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। गत आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भने भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ।


