काठमाडौं । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण संकलन गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणनामा कागजी प्रश्नावली र इ–सेन्सस दुवै माध्यमबाट तथ्यांक संकलन भइरहेको छ। हालसम्म १३ लाख ४४ हजार ५०० कागजी प्रश्नावली र ६ हजार ६६७ इ–सेन्सस प्रश्नावली प्राप्त भएका छन्।
यसअघि २०७५ सालमा सम्पन्न पहिलो आर्थिक गणनामा ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठानको विवरण संकलन गरिएको थियो। यसपटकको गणनामा अघिल्लोभन्दा उल्लेखनीय रूपमा बढी आर्थिक गतिविधि समेटिएको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले चैत १ गतेदेखि असार मसान्तसम्म देशभर आर्थिक गणना सञ्चालन गरिरहेको हो।
कार्यालयका अनुसार यस गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, संघ–संस्था, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत तथ्यांक संकलन गरिनेछ। यी तथ्यांकले देशको जीडीपी अनुमान, राष्ट्रिय लेखा, नीति निर्माण तथा विकास योजनामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
गणनामा ३ हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक तथा विभिन्न तहका व्यवस्थापन समूह परिचालन गरिएको छ। साथै, संघीयदेखि स्थानीय तहसम्मका सरकारी निकायहरूको समन्वयमा कार्य अघि बढाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सही विवरण उपलब्ध गराई अभियान सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।


