Thursday, June 18, 2026
Homeअर्थ र ब्यापारयस वर्षको तिहारमा ५० करोडको फूल बेचियो, सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा

यस वर्षको तिहारमा ५० करोडको फूल बेचियो, सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा

काठमाडौँ: यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूल कारोबार भएको छ, जसमा सबैभन्दा बढी खपत काठमाडौँ उपत्यकामा भएको छ।

फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार, यो कारोबार गत वर्षकै स्तरमा रहेको छ। उपभोक्ताले यस वर्ष एक मालाका लागि साधारणतया रु एक सय तिर्नुपरेको थियो।

अध्यक्ष बादेले काठमाडौँ महानगरपालिकाले यस वर्ष फूल बिक्रीका लागि ४६ स्थान तोकेकाले फूल किनबेचमा सहजता आएको जानकारी दिनुभयो।

बजारको माग हरेक वर्ष १५ देखि २० प्रतिशतले बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशत मात्र बढ्ने गरेको छ। तिहारमा विशेष गरी मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले धान्ने गरे पनि सयपत्री र रातो गुलाफ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताउनुभयो।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, र मोरङलगायत ५२ जिल्लामा पुष्पखेतीको विस्तार भएको छ। अध्यक्ष बादेका अनुसार, व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्। पुष्पखेतीबाट ४४ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् भने, २२१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीहरूले व्यावसायिक रूपमा पुष्पखेती गरिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका