मुस्ताङ । जलवायु परिवर्तनका असर, चुनौती र त्यसको न्यूनीकरण तथा अनुकूलनका उपायबारे छलफल गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ सुरु भएको छ।
गाउँपालिकाको आयोजनामा मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुभएको हो।
उद्घाटन समारोहअघि जोमसोमस्थित गाउँपालिका कार्यालयमा भेला भएका सातै प्रदेशका जनप्रतिनिधि तथा अतिथिहरू सांस्कृतिक झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए।
सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो।
सम्मेलनमा विभिन्न जिल्लाका डेढ दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका बहुआयामिक प्रभाव, स्थानीय तहका चुनौती तथा सम्भावित समाधानबारे छलफल गरिनेछ।
हरितगृह ग्यास उत्सर्जनका कारण बढ्दै गएको तापक्रम, कृषि, पशुपालन, पर्यटन, पूर्वाधार तथा पर्यावरण क्षेत्रमा सिर्जित जोखिम र जलवायु अनुकूलनका उपाय सम्मेलनका प्रमुख एजेन्डा रहेका छन्।
त्यसैगरी, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिको समेत सम्मेलनमा समीक्षा गरिने आयोजकले जनाएको छ।
विश्वव्यापी चिन्ताको विषय बनेको जलवायु सङ्कट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनुपर्ने भावी रणनीति तय गर्ने उद्देश्य सम्मेलनको रहेको छ। सम्मेलनको समापनमा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ।


