काठमाडौं, साउन ५ — दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली आज (शनिबार) भारतको हरियाणातर्फ प्रस्थान गरेको छ। १४ खेलाडीसहित १८ सदस्यीय टोली विश्वकप खेल्न जाँदै हो, जुन अगस्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा आयोजना हुनेछ।
टोलीमा मानमति विष्ट (कप्तान) र जयन्ती बडु (उप–कप्तान) सहित मेनुका कुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्।
प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा, व्यवस्थापक शरद दर्शनधारी र निर्णायक रमेशचन्द्र ओझा टोलीमा रहेका छन्।
नेपालले प्रतियोगिता अघि मोरमाजरामै १२ दिनको प्रशिक्षण गर्नेछ र सो अवधिमा स्थानीय ५ क्लबसँग अभ्यास खेल समेत खेल्नेछ।
एशियाका ४७ राष्ट्र मध्ये विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले छनोट हुँदै प्रतियोगितामा स्थान पाएको हो। यसपटक नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन्।
१३ वर्षपछि हुन लागेको विश्वकपको पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा आयोजना भएको थियो।
शुक्रबार आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट ले टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका थिए।
कार्यक्रममा बोल्दै घिसिङले नेपाली महिला खेलाडीहरूको प्रदर्शन उकालो लागिरहेको उल्लेख गर्दै दक्षिण एशियासम्म सीमित भन्ने भ्रम चिर्न सफल भएको बताए। प्रशिक्षक भट्ट र कप्तान विष्टले ८ महिनाको बन्द प्रशिक्षणपछि टोलीको तयारी उत्कृष्ट रहेको भन्दै पदक जित्नेमा आशावादी रहेको बताएका छन्।


