काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई समयअनुकूल रूपमा थप विस्तार, सुदृढ र परिणाममुखी बनाउन वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
भारतीय सञ्चारमाध्यमसँगको विशेष अन्तर्वार्तामा मन्त्री खनालले छोटो समयमै जनसमर्थन प्राप्त गर्दै सरकारको नेतृत्वमा पुगेको वर्तमान नेतृत्वले छिमेकी मुलुकसँगको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन चाहेको बताएका हुन्।
नेपाल–भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, खुला सीमा र जनस्तरको निकटतालाई उल्लेख गर्दै उनले दुवै देशले एकअर्काको सुरक्षा चासो र संवेदनशीलतालाई सम्मान गर्दै सहकार्य विस्तार गरिरहेको बताए। भारतीय विदेशमन्त्रीसँग भएका पछिल्ला भेटवार्तामा पनि सम्भव भएका सबै क्षेत्रमा सहकार्य बढाउने विषयमा सकारात्मक छलफल भएको उनको भनाइ छ।
मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा सम्पर्क सञ्जाल जस्ता क्षेत्रमा भारतसँग थप लगानी र सहकार्यको अपेक्षा रहेको उल्लेख गरे। उनले नेपाली विद्युत् क्षेत्रको विकास र तेस्रो मुलुकमा ऊर्जा निर्यातका लागि समेत भारतको सहकार्य महत्त्वपूर्ण हुने बताए।
विगतका असमझदारीमा केन्द्रित हुनुको सट्टा भविष्यतर्फ उन्मुख सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले नेपालले अब पारस्परिक लाभका आधारमा नयाँ अवसरहरू खोज्ने बताएका छन्। नेपाली जनताको जीवनस्तर सुधार्ने गरी आर्थिक तथा कूटनीतिक सम्बन्धलाई उपयोग गरिने उनको भनाइ थियो।
उनले हालै भएका उच्चस्तरीय राजनीतिक भ्रमण र संवादहरूले दुई देशबीचको सम्बन्धमा नयाँ उत्साह थपेको उल्लेख गर्दै रेलमार्ग, शिक्षा, प्रविधि तथा पूर्वाधार क्षेत्रमा छिट्टै थप ठोस सहकार्य अघि बढ्ने विश्वास व्यक्त गरे।


