Sunday, May 3, 2026
Homeस्वास्थ्य र जीवनशैली‘प्लास्टिक सर्जरी सौन्दर्य मात्र होइन, जीवन पुनर्निर्माणको विज्ञान’

‘प्लास्टिक सर्जरी सौन्दर्य मात्र होइन, जीवन पुनर्निर्माणको विज्ञान’

काठमाडौं । नेपालमा प्लास्टिक सर्जरीलाई अझै धेरैले सौन्दर्यसँग मात्र जोडेर बुझ्ने प्रवृत्ति देखिए पनि यसको वास्तविक दायरा निकै फराकिलो रहेको चिकित्सकहरू बताउँछन्। अरिन अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा. अनुप थापाका अनुसार प्लास्टिक सर्जरी केवल अनुहार सुन्दर बनाउने विधा नभई शरीरको पुनर्निर्माण र जटिल अवस्थाको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने शल्यक्रिया हो।

उनका अनुसार यो विधा शरीरको कुनै एक अंगमा सीमित छैन। टाउकोदेखि खुट्टासम्म आवश्यकताअनुसार प्रयोग गर्न सकिने विशेष शल्यक्रिया पद्धति हो। नेपालमा भने अझै पनि प्लास्टिक सर्जरीलाई केवल कस्मेटिक सर्जरीका रूपमा बुझ्ने गलत धारणा व्यापक रहेको उनले बताए।

डा. थापाका अनुसार प्लास्टिक सर्जरीलाई मुख्यतः दुई भागमा वर्गीकरण गर्न सकिन्छ—सौन्दर्यात्मक (कस्मेटिक) र पुनर्निर्माणात्मक (रिकन्स्ट्रक्टिभ)। सौन्दर्यात्मक सर्जरी अन्तर्गत अनुहार सुधार, बडी कन्टोरिङ, दाग हटाउने तथा नाक–कानको आकार मिलाउनेजस्ता प्रक्रिया पर्छन्, जसले व्यक्तिको आत्मविश्वास र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

त्यस्तै, पुनर्निर्माणात्मक सर्जरीले क्यान्सरपछि हटाइएका अंगको पुनःनिर्माण, जन्मजात विकृति (जस्तै ओठ फाटेको, कान नहुनु), दुर्घटनाबाट क्षतिग्रस्त अंगको पुनर्संरचना तथा जलनका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा जलन र दुर्घटनाका घटना बढी हुने भएकाले यस्तो सर्जरीको आवश्यकता अझ बढ्दो रहेको उनको भनाइ छ।

उनले पछिल्लो समय टिस्यु इन्जिनियरिङ र लिङ्ग पहिचानअनुसार शरीर परिवर्तन गर्ने शल्यक्रिया जस्ता नयाँ प्रविधिहरू पनि नेपालमा विस्तार हुँदै गएको जानकारी दिए।

डा. थापाले नेपालमा प्लास्टिक सर्जरीबारे जनचेतना अत्यन्त न्यून रहेको उल्लेख गर्दै धेरै स्वास्थ्यकर्मीहरूले समेत यसको पूर्ण दायरा नबुझेको बताए। उनका अनुसार पश्चिमी देशहरूमा यसको महत्व बुझिए पनि नेपालमा अझै यसलाई विलासिताको रूपमा हेरिने गरिन्छ।

उनले कस्मेटिक सर्जरीलाई पनि केवल लक्जरी मान्नु गलत भएको बताए। सानो दाग वा अनुहारको विकृतिले समेत व्यक्तिको आत्मविश्वास र सामाजिक जीवनमा गम्भीर असर पार्न सक्ने भएकाले यसको उपचारले जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सक्छ।

प्लास्टिक सर्जरीमा सानो देखिने प्रक्रिया पनि अत्यन्त जटिल हुने उनले बताए। शरीरको प्राकृतिक संरचनासँग मिलाएर दागलाई लुकाउने सीप नै यस विधाको विशेषता भएको उनको भनाइ छ।

शल्यक्रियापछि बिरामीले अपनाउनुपर्ने सावधानीबारे पनि उनले जोड दिए। धूम्रपान, मद्यपान, तनाव, अनिद्रा र अस्वस्थ खानपानले घाउ निको हुने प्रक्रियामा असर गर्ने भएकाले यस्ता बानीबाट टाढा रहनुपर्ने उनले बताए। साथै मधुमेह, उच्च रक्तचाप र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने अवस्थालाई नियन्त्रणमा राखेर मात्र शल्यक्रिया गर्नुपर्ने सुझाव उनले दिए।

नेपालमा प्लास्टिक सर्जनको संख्या अत्यन्त कम रहेको भन्दै उनले यसलाई चुनौतीपूर्ण अवस्था भएको बताए। आवश्यकता बढ्दो भए पनि दक्ष जनशक्ति अभावका कारण सेवा विस्तारमा समस्या रहेको उनको भनाइ छ।

खर्चको हिसाबले भने नेपालमा प्लास्टिक सर्जरी विदेशको तुलनामा सस्तो रहेको उनले बताए। यही कारण विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकहरू पनि उपचारका लागि नेपाल आउने गरेको उनको अनुभव छ।

डा. थापाका अनुसार अरिन अस्पतालमा पुनर्निर्माणात्मकदेखि सौन्दर्यात्मकसम्मका सबै प्रकारका प्लास्टिक सर्जरी सेवा उपलब्ध छन्। जटिल शल्यक्रियाहरू टिमवर्कमा गरिने र कहिलेकाहीँ १४–१५ घण्टासम्म सञ्चालन हुने उनले बताए। सफल सर्जरीका लागि योजना, विशेषज्ञता र सहकार्य अत्यन्त आवश्यक हुने उनको निष्कर्ष छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका