काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बान्दामा प्रेम सम्बन्धमा रहेकी एक महिलालाई युवकले २० हजार रुपैयाँमा बेचेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महिलालाई बिक्री गरेपछि रकम पूरा नपाएको भन्दै पुनः अर्कै व्यक्तिलाई बेचिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटना बदौसा थाना क्षेत्रअन्तर्गतको एक गाउँमा भएको हो। प्रहरीका अनुसार मुख्य अभियुक्त विनय छत्तीसगढको एक फलाम कारखानामा मजदुरी गर्दै आएका थिए। त्यही क्रममा उनको एक महिलासँग चिनजान भई निकटता बढेको र पछि प्रेम सम्बन्ध कायम भएको बताइएको छ।
विनयले ती महिलालाई आफ्नो गाउँ लिएर आएपछि उनकी श्रीमतीले घटनाबारे थाहा पाएकी थिइन्। त्यसपछि घरमा विवाद बढ्न थालेको र यही विवादका कारण विनयले महिलालाई रामभवन नाम गरेका व्यक्तिलाई २० हजार रुपैयाँमा बेचेको आरोप छ।
प्रहरी अनुसन्धानका क्रममा विनयले महिलाको बिक्रीबापतको रकम पूर्ण रूपमा नपाएको खुलेको छ। त्यसपछि उनले महिलालाई गरिबदास नाम गरेका अर्का व्यक्तिलाई पुनः बिक्री गरेको आरोप लागेको छ। घटनामा उदित नाम गरेका व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनामा विनय, रामभवन, गरिबदास र उदित गरी चार जना संलग्न रहेको खुलेको छ।
महिलाको खरिद–बिक्री भइरहेको सूचना आपत्कालीन नम्बर ११२ मार्फत प्रहरीसम्म पुगेपछि बदौसा प्रहरी र मानव बेचबिखन नियन्त्रण एकाइ (एएचटीयू) को टोली घटनास्थल पुगेको थियो। प्रहरीले महिलालाई सकुशल उद्धार गरेको जनाएको छ।
उद्धारपछि महिलाको स्वास्थ्य परीक्षण गरिनुका साथै बयानसमेत दर्ता गरिएको छ। हाल उनलाई ‘वान स्टप सेन्टर’मा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सौरभ सिंहका अनुसार घटनाबारे सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाएर मुद्दा दर्ता गरिएको हो। घटनामा संलग्न चारै जनालाई पक्राउ गरी उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।


