Sunday, June 28, 2026
Homeराजनीतिप्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

काठमाडौं: तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेकोमा २० जनालाई लागेको पुष्टि गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उक्त जानकारी दिएको हो।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, गोली लाग्नेहरूमा २ महिला र १८ पुरुष रहेका छन्। १३ जना अझै अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार, ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, १९२ पटक ब्ल्यांक फायर, तथा पेस्तोलबाट २ राउन्ड गोली चलाइएको थियो।

प्रदर्शनका क्रममा ५५ नेपाल प्रहरी र २३ सशस्त्र प्रहरी घाइते भएका छन्, भने ५३ जना प्रदर्शनकारीसमेत घाइते भएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शन हिंस्रक बन्दा मानवीय क्षतिसहितको दुखद घटना भएको थियो।

यस्तै, प्रहरीले मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास नहानिएको दाबी गरेको छ। ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। राष्ट्रिय गान बज्दा टियर ग्यास प्रहार गरिएको होइन, त्यो डिप फेक भिडियो हो। कार्यक्रम सुरु नै भएको थिएन, कसरी राष्ट्रिय गान बज्छ?’ प्रवक्ता आचार्यले भने।

यसैबीच, घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शवको ६ दिनपछि पोस्टमार्टम गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टअनुसार सुरेशलाई गोली लागेको नभई आगो लागेर मृत्यु भएको देखिएको छ।

पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार, बाहिर हल्ला भएजस्तो मारेर जलाइएको प्रमाण भेटिएको छैन। श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो पाइएको र यसले आगो लाग्दा उनी जीवित नै रहेको पुष्टि गरेको चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका