काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषमा १० करोड ३३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको ठहर गर्दै कोषका तत्कालीन र हालका पदाधिकारी, इन्जिनियर, कानुनी सल्लाहकार, प्राध्यापक, कम्पनीहरू र तिनका सञ्चालकहरूसहित १४ जना र दुईवटा कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा कोषका तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक र हाल उपनिर्देशक रेवतीरमण अधिकारी, सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, प्राध्यापक युवराज अधिकारी, कानुनी सल्लाहकार लैनबहादुर थापा, र अन्य व्यवसायी तथा कम्पनी सञ्चालकहरूमाथि भ्रष्टाचारको अभियोग लगाइएको छ।
मुद्दामा म्याप इन्टरप्रेनर्स प्रालि र एपल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालिका सञ्चालकहरूमाथि समेत मुद्दा परेको छ।
२०८० असार ५ गते आह्वान गरिएको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलोमतोमा भ्रष्टाचार गरेको र सार्वजनिक संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याएको निष्कर्ष निकालिएको छ।
ciaa-pasupati


