काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आइतबार बेइजिङ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यी लगायत उच्च सरकारी अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुनेछन्। साथै, उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरी नेपालमा लगानीका सम्भावना र अवसरबारे छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।


