Thursday, June 25, 2026
Homeअर्थ र ब्यापारधरहरा चढ्ने समय बढ्यो,सञ्चालनको तीन महिना नपुग्दै एक करोड ५२ लाख राजस्व...

धरहरा चढ्ने समय बढ्यो,सञ्चालनको तीन महिना नपुग्दै एक करोड ५२ लाख राजस्व असुल

काठमाडौँ: गर्मी बढेसँगै धरहरा अवलोकन समय एक घण्टा थप गरिएको छ। पुनर्निर्माणपछि गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनको समय यही माघ १५ गतेदेखि बढाइएको हो।

यसअघि माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्न सकिन्थ्यो। अब समय थप गरिँदा ४ः१५ बजेसम्म टिकट काट्न पाइने र साँझ ५ बजेसम्म धरहरा चढ्न सकिने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार सञ्चालनको तीन महिनामै धरहराबाट प्रवेश शुल्कबापत रु १ करोड ५२ लाख राजस्व सङ्कलन भएको छ। मंसिर ९ गते सर्वसाधारणका लागि धरहरा खुला गरेपछि माघ २४ गतेसम्ममा उक्त राजस्व सङ्कलन भएको हो।

प्रत्येक बुधबार धरहरा बन्द रहने भए पनि अन्य दिन दैनिक झण्डै एक हजार दुई सय नागरिकले धरहरा अवलोकन गर्ने गरेको उहाँले बताउनुभयो।

पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा हेर्न आउने गरेका छन्। धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति रु ५०० र अन्य राष्ट्रका पर्यटकका लागि रु १००० शुल्क तोकिएको छ। निर्देशक अर्यालका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालनमा ल्याइएको हो।

पार्किङ शुल्कका लागि चारपाङ्ग्रे सवारीलाई प्रतिघण्टा रु २० र दुईपाङ्ग्रे सवारीलाई रु १० तोकिएको छ। धरहरा परिसर प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु ५ हजार, व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु ५ हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा रु १ हजार शुल्क निर्धारण गरिएको निर्देशक अर्यालले जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका