काठमाडौँ । नेपाली कांग्रेस पछिल्लो समय पार्टीको आन्तरिक विवाद, नेतृत्वको दाबी र वैधानिकताको प्रश्नका कारण जटिल राजनीतिक मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि चर्किएको संस्थापन र इतर पक्षबीचको विवाद समाधान हुनुको साटो थप गहिरिँदै गएपछि पार्टीभित्रको शक्ति समीकरणमा नयाँ बहस सुरु भएको छ।
यहीबीच लामो समयदेखि विदेशमा उपचाररत कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किन लागेपछि कांग्रेसभित्र राजनीतिक सरगर्मी थप बढेको छ। देउवा थाइल्यान्डबाट नियमित विमानमार्फत बिहीबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको घटनामा घाइते भएपछि देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि सिंगापुर पुगेका उनी स्वास्थ्य परामर्शका क्रममा हङकङ हुँदै अहिले थाइल्यान्डबाट काठमाडौं फर्किन लागेका हुन्।
देउवाको स्वदेश फिर्तीलाई कांग्रेसको इतर पक्षले विशेष महत्व दिएको छ। उनलाई स्वागत गर्न राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य तथा ठूलो संख्यामा कार्यकर्ता विमानस्थल पुग्ने तयारी गरिएको बताइएको छ।
आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा हुन लागेको उक्त स्वागतलाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
यसैबीच, कांग्रेसको आन्तरिक विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशले कानुनी पक्षलाई थप पेचिलो बनाएको छ। यसअघि गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने गरी भएको फैसलाविरुद्ध पुनरावलोकनको अनुमति दिइएपछि उक्त विषय पुनः कानुनी प्रक्रियामा प्रवेश गरेको छ।
अदालतले मुद्दालाई पुनः सुनुवाइ गर्ने बाटो खुलाएसँगै कांग्रेसको नेतृत्व तथा कार्यसमितिको वैधानिकताबारे बहस थप चर्किएको छ। अन्तिम फैसला नआएसम्म पार्टीका निर्णय तथा संगठनात्मक गतिविधिमा कानुनी प्रश्न उठ्न सक्ने अवस्था देखिएको छ।
देउवाको लामो विदेश बसाइका क्रममा पार्टीको भावी रणनीति र कानुनी विषयमा छलफल तथा गृहकार्य भएको हुन सक्ने राजनीतिक वृत्तमा चर्चा भए पनि यसबारे औपचारिक रूपमा पुष्टि भएको छैन। सर्वोच्चको पछिल्लो आदेश र देउवाको स्वदेश फिर्ती एकै समयमा हुनुलाई कांग्रेसभित्र कतिपयले राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरेका छन्।
राष्ट्रिय भेलामा देउवाको सहभागिताले पार्टीभित्रको इतर पक्षलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ। इतर पक्षले विशेष महाधिवेशनपछि पार्टी सञ्चालनमा एकपक्षीयता देखिएको आरोप लगाउँदै आएको छ।
अर्कोतर्फ, सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियासँगै संस्थापन पक्षमाथि कानुनी तथा राजनीतिक दबाब बढेको देखिन्छ। अन्तिम फैसला नआएसम्म पार्टीको नेतृत्व र वैधानिकतासम्बन्धी विषयमा थप अनिश्चितता कायम रहने देखिएको छ।
कांग्रेसको वर्तमान विवाद अब दुई गुटबीचको सामान्य आन्तरिक मतभेदमा मात्र सीमित नरही पार्टीको नेतृत्व, वैधानिकता र भावी राजनीतिक दिशासँग जोडिएको विषय बनेको छ।
देउवाको स्वदेश फिर्ती, विमानस्थलमा हुने स्वागत तथा शक्ति प्रदर्शन, त्यसपछिका राजनीतिक भेटघाट र साउन २९ गतेदेखि सुरु हुने राष्ट्रिय भेलाले कांग्रेसभित्रको शक्ति समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। साथै, सर्वोच्च अदालतको आगामी निर्णयले पनि पार्टीको आन्तरिक विवाद कुन दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्ने देखिन्छ।


