वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रमा लागू गरिएको कार्बन उत्सर्जनसम्बन्धी कडा सीमा हटाउने तयारी गरेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा सन् २०२४ मा लागू गरिएको वातावरणीय नियम उल्ट्याउँदै नयाँ नीति ल्याउन लागेको हो। बाइडेन प्रशासनको उक्त नियमले कोइला र ग्यासमा आधारित विद्युत् केन्द्रलाई कार्बन उत्सर्जनमा उल्लेख्य कटौती गर्न वा उत्सर्जन लगभग पूर्ण रूपमा हटाउने उपाय अपनाउन बाध्य बनाएको थियो।
ब्लुमबर्ग न्युज र न्युयोर्क टाइम्सका अनुसार वातावरण संरक्षण एजेन्सी (ईपीए) का प्रशासक ली जेल्डिनले ह्युस्टनमा आयोजित जी–२० ऊर्जामन्त्रीहरूको बैठकका क्रममा यससम्बन्धी औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ।
प्रस्तावित नयाँ नियमअनुसार विद्युत् केन्द्रका कार्बन उत्सर्जनसम्बन्धी सीमा हटाइने भए पनि मर्करी, आर्सेनिकलगायत अन्य हानिकारक प्रदूषकमा लगाइएको सीमा भने कायम रहने जनाइएको छ।
जलवायु परिवर्तनका दृष्टिले कोइलालाई सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने जीवाश्म इन्धनमध्ये एक मानिन्छ। तर राष्ट्रपति ट्रम्पले मानव गतिविधिका कारण हुने जलवायु परिवर्तनको अवधारणालाई पटक–पटक अस्वीकार गर्दै यसलाई ‘धोखा’ भन्दै आएका छन्।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि ट्रम्प प्रशासनले जीवाश्म इन्धनको प्रयोगलाई प्रोत्साहन गर्ने तथा उत्सर्जन नियन्त्रण गर्ने अघिल्लो सरकारका विभिन्न वातावरणीय नीतिहरू उल्ट्याउने प्रक्रिया अघि बढाएको छ।
यसै क्रममा ईपीएले सन् २००९ मा जारी गरिएको ऐतिहासिक ‘एन्डेन्जरमेन्ट फाइन्डिङ’ समेत खारेज गरिसकेको छ। उक्त वैज्ञानिक निष्कर्षले हरितगृह ग्यासको उत्सर्जनले जनस्वास्थ्य तथा जनकल्याणमा गम्भीर खतरा पुर्याउने ठहर गरेको थियो।


