मुम्बई — आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार बलियो टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन्। ती खेलमा एसोसियट टोलीहरूले टेस्ट राष्ट्रहरूलाई कडा चुनौती दिएका थिए। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए।
नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ। नेपाली टोलीका पेस बलर सोमपाल कामीले विश्वकपअघि इंग्ल्यान्डलाई नेपालले ‘अपसेट’ गर्न सक्ने बताएका थिए। आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध नेपाल विशेष प्रदर्शन गर्ने लक्ष्यमा रहनेछ।
तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको नेपाल यसअघि दुई संस्करणमा समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने सुपर–८ चरणमा पुग्ने लक्ष्य राखिएको छ। त्यसका लागि नेपालले समूह चरणका चार खेलमध्ये कम्तीमा दुई खेल जित्नुपर्नेछ। इंग्ल्यान्डविरुद्धको खेलमा जित निकाल्न सके नेपाली टोलीको मनोबल उच्च हुने अपेक्षा गरिएको छ।
नेपाल र इंग्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो भेट हुनेछ। इंग्ल्यान्ड विश्वकपअघि श्रीलंकासँगको टी–२० शृंखला जितेर आएको छ भने नेपालले अभ्यास खेलमा एमसीए प्रेसिडेन्ट, क्यानडा र यूएईलाई पराजित गरेको थियो। नेपाल १२ वर्षपछि विश्वकपमा पहिलो जितको खोजीमा छ भने इंग्ल्यान्ड आफ्नो दबदबा कायम राख्ने दाउमा हुनेछ।
नेपालले अभ्यास र वार्मअप खेलमा विभिन्न टिम संयोजन प्रयोग गरेको थियो। ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख रहने सम्भावना छ। कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख मध्यक्रममा खेल्न सक्छन्। त्यसपछि सन्दीप जोरा र गुल्शन झा मैदान उत्रने सम्भावना छ।
वाङ्खडे मैदान पेस बलरलाई सहयोगी हुने भएकाले करण केसी, सोमपाल कामी र नन्दन यादवलाई खेलाउने सम्भावना रहेको छ भने स्पिनतर्फ सन्दीप लामिछाने मुख्य विकल्प रहनेछन्। प्रशिक्षकले मौका दिएमा मिस्ट्री स्पिनर शेर मल्ललाई पनि खेलाउन सकिने अनुमान गरिएको छ।
नेपालको सम्भावित प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल
इंग्ल्यान्डले भने नेपालविरुद्धको प्लेइङ ११ सार्वजनिक गरिसकेको छ।
इंग्ल्यान्डको प्लेइङ ११:
फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रूक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड
नेपालका लागि ओपनर कुशल भुर्तेल महत्वपूर्ण खेलाडीका रूपमा रहने अपेक्षा गरिएको छ। पावरप्लेमा उनको प्रदर्शनले नेपालको इनिङको आधार तय गर्न सक्छ। दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ भने शेर मल्ल खेलेको अवस्थामा उनको स्पिन बलिङ पनि निर्णायक हुन सक्छ।
इंग्ल्यान्डका लागि फिल साल्ट र जस बट्लर प्रमुख पावर हिटर हुन्। कप्तान ह्यारी ब्रूक मिडल अर्डरमा महत्वपूर्ण रहनेछन् भने बलिङतर्फ जोफ्रा आर्चर र आदिल राशिदमाथि नजर रहनेछ।
नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डविरुद्ध खेल कठिन भए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताए। इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने उल्लेख गरेका छन्।
खेल विवरण:
नेपाल बनाम इंग्ल्यान्ड, समूह ‘सी’
मिति : २५ माघ, आइतबार
समय : दिउँसो ३:१५ बजे
स्थान : वाङ्खडे स्टेडियम, मुम्बई
मौसम : मौसम सफा रहने र बेलुकातिर डिउ पर्ने सम्भावना कम रहेको अनुमान गरिएको छ।


