Monday, July 20, 2026
Homeअन्तराष्ट्रियजेन-जी विद्रोह दबाउन राजधानीमा मात्रै २ सय १७ जनाको हत्या

जेन-जी विद्रोह दबाउन राजधानीमा मात्रै २ सय १७ जनाको हत्या

काठमाडौं । इरानमा इस्लामिक शासनविरुद्ध जारी सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । इरानी सरकारको निर्देशनमा सुरक्षा बलले विभिन्न स्थानमा प्रदर्शनकारीमाथि गोली चलाएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् ।

नाम नखुलाउने सर्तमा तेहरानका एक डाक्टरले टाइम पत्रिकालाई बताएअनुसार राजधानी तेहरानका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ जना प्रदर्शनकारीको मृत्यु भएको रेकर्ड गरिएको छ । तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको बताइएको छ । यद्यपि, टाइम पत्रिकाले यी तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

यदि उक्त तथ्याङ्क सही ठहरे, यसले इरानमा सरकारविरोधी प्रदर्शनमाथि गरिएको कठोर दमनलाई स्पष्ट रूपमा देखाउनेछ । विरोध प्रदर्शन सुरु भएयता इरानी सरकारले देशभर इन्टरनेट तथा फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरेको छ, जसका कारण घटनाबारे स्वतन्त्र सूचना बाहिर आउन कठिन भएको छ ।

आर्थिक संकटको विरोधमा डिसेम्बर २८ बाट सुरु भएका प्रदर्शनहरू अहिले इरानका सबै ३१ प्रान्तमा फैलिएका छन् । प्रदर्शनकारीहरूले इस्लामिक शासनको अन्त्यको माग गर्दै “स्वतन्त्रता” र “तानाशाह मुर्दावाद” जस्ता नारा लगाइरहेका छन् ।

एक इरानी डाक्टरले टाइम लाई भनेका छन्, “विरोध चर्किँदै जाँदा सुरक्षा बलले धेरै क्षेत्रमा प्रदर्शनकारीमाथि सिधै गोली चलायो । शुक्रबार अस्पतालहरूबाट शवहरू हटाइयो । मृतकमध्ये धेरैजसो युवा थिए । उत्तरी तेहरानस्थित एक प्रहरी चौकी बाहिर मेसिनगनबाट गोली चल्दा घटनास्थलमै धेरै प्रदर्शनकारीको ज्यान गयो । यस घटनामा मात्रै कम्तीमा ३० जना घाइते भएका थिए ।”

अधिकांश र्‍यालीहरू शान्तिपूर्ण रहे पनि केही स्थानमा सरकारी भवनमा तोडफोड र आगजनी भएको रिपोर्ट आएको छ । प्रदर्शनकारीहरूले तेहरानस्थित अल–रसुल मस्जिदमा आगजनी गरेको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका