Friday, June 19, 2026
Homeराजनीतिचितवनबाट महाधिवेशन सुरु गर्दै रास्वपा, ‘उद्गम थलो’लाई थप मजबुत बनाउने तयारी

चितवनबाट महाधिवेशन सुरु गर्दै रास्वपा, ‘उद्गम थलो’लाई थप मजबुत बनाउने तयारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशसँगै पहिलो राष्ट्रिय महाधिवेशन चितवनबाट सुरु गर्ने तयारीमा जुटेको छ। असार ७ गतेदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक तथा नेता–कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

रास्वपाले चितवनलाई आफ्नो प्रमुख राजनीतिक आधार क्षेत्र र उद्गम थलोका रूपमा स्थापित गर्दै आएको छ। पार्टी नेतृत्वका अनुसार सभापति रवि लामिछानेले चितवनबाट प्राप्त गरेको निरन्तर जनसमर्थनले जिल्लालाई पार्टीको सबैभन्दा बलियो गढका रूपमा उभ्याएको छ।

लामिछाने चितवनका स्थायी बासिन्दा नभए पनि निर्वाचन राजनीतिमा चितवन उनको प्रमुख आधार क्षेत्र बनेको छ। स्थानीय नेताहरूका अनुसार विगतमा एक घटनाका क्रममा लामिछाने हिरासतमा रहँदा चितवनवासीले देखाएको ऐक्यबद्धता र समर्थनले उनलाई सक्रिय राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको थियो।

चितवन–२ बाट लामिछाने लगातार तीन निर्वाचनमा विजयी भएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ४९ हजार २६१ मत प्राप्त गरेका थिए। त्यसपछि २०८० सालको उपनिर्वाचनमा ५४ हजार २७६ मत ल्याउँदै आफ्नो मतभार बढाएका थिए। हालै सम्पन्न २०८२ सालको निर्वाचनमा उनले ५४ हजार ४०२ मत प्राप्त गर्दै अघिल्ला दुवै नतिजाभन्दा बढी मत हासिल गरेका छन्।

रास्वपाले पहिलो निर्वाचनमा चितवनका दुई निर्वाचन क्षेत्र जितेको थियो भने पछिल्लो निर्वाचनमा जिल्लाका तीनवटै क्षेत्र जित्न सफल भएको पार्टीको दाबी छ। यही सफलताका आधारमा चितवनलाई पार्टीको सबैभन्दा बलियो आधारभूमि मानिएको छ।

रास्वपाका नेताहरूले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको दाबी गर्दै पहिलो महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार रास्वपाले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन त्यही स्थानबाट सुरु गर्दैछ, जहाँ सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले ठूलो जनसभालाई सम्बोधन गरेका थिए। महाधिवेशनले पार्टीको भावी दिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका