काठमाडौं। खुद ब्याज आम्दानीमा आएको कमी र कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेपछि कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ।
बैंकको नाफामा दबाब सिर्जना गर्ने मुख्य कारण इम्पेयरमेन्ट चार्जको वृद्धि रहेको छ। सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले १ अर्ब १७ करोड ९० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ६३ करोड रुपैयाँ मात्र थियो।
नाफा घटे पनि बैंकको निक्षेप संकलन र कर्जा विस्तार भने सकारात्मक देखिएको छ। बैंकको कुल निक्षेप एक वर्षमा २ खर्ब ९३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) अनुपात बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३.४४ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा बढेर ४.०७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थापनका लागि बैंकले थप प्रबन्ध गर्नुपरेको जनाएको छ।
बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ। यसले बैंकको लाभांश वितरण क्षमतामा समेत प्रत्यक्ष प्रभाव पारेको छ।
खुद नाफा र वितरणयोग्य मुनाफा दुवै घटेपछि बैंकको लाभांश क्षमता १७.९८ प्रतिशतबाट झरेर ६.५४ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८९३.६१ रुपैयाँ तथा तरलता अनुपात ३७.४५ प्रतिशत रहेको बैंकले जनाएको छ।


