काठमाडौं । बेलायतको कार्डिफस्थित अदालतले आफ्नी पत्नीलाई कार पार्कमा घातक रूपमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३७ वर्षीय थिसारा वेरेगललाई आजीवन कारावासको सजाय सुनाएको छ।
सन् २०२५ अगस्ट २१ मा ३२ वर्षीया दोन निरोधा कलपनी रिभरसाइडको साउथ मोर्गन प्लेसमा घटनास्थलमै मृत फेला परेकी थिइन्। वेरेगलले सुरुमा हत्या अस्वीकार गरे पनि जनवरीमा न्यूपोर्ट क्राउन कोर्टमा दोष स्वीकार गरेका थिए। कार्डिफ क्राउन कोर्टका न्यायाधीश ड्यानियल विलियम्सले भने, “उनको निर्दयी स्वार्थले निरोधाको जीवन छोट्यायो।”
अदालतलाई दिइएको जानकारी अनुसार दम्पती महिनौँदेखि अलग बसिरहेका थिए। घटनाको बिहान वेरेगलले कार पार्कमा पुगेर १५ सेन्टिमिटरको भान्साको छुराले अनुहार, घाँटी, छाती, हात र खुट्टामा घातक चोट पुर्याएका थिए। निरोधा घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन्।
प्रत्यक्षदर्शीहरूले वेरेगलाई आफ्नो फोर्ड फिएस्टा कारमा तीव्र गतिमा भागिरहेको देखेका थिए। पक्राउको बेला कारभित्र रगतले भिजेका ग्लोभ र खोलिएको छुरा भेटिएको थियो। अनुसन्धान अनुसार हत्या योजनाबद्ध र पूर्वनियोजित थियो।
निरोधा र वेरेगल सन् २०१७ मा श्रीलङ्कामा विवाह गरेका थिए र सन् २०२२ मा कार्डिफ आएका थिए। वैवाहिक समस्या बढेपछि निरोधाले सहकर्मीसँग सम्बन्ध गाँसेकी थिइन्।
दक्षिण वेल्स प्रहरीले निरोधालाई परिवार र साथीहरूले अत्यन्त माया गर्ने व्यक्ति भनेको र उनको जीवन ईर्ष्यालु र कायरपूर्वसाथीले समाप्त गरेको उल्लेख गरेको छ।


