काठमाडौँ: नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा छिनोफानो लगभग तय भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लागेको हो।
दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ ।
यता एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् ।
त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ ।
साना दल जसपा, जसपा नेपाल,लोसपा, जनतम सरकारमा जाने तयारीमा छन् ।
एमालेका एक नेताका अनुसार यी मन्त्रालय भागबन्डामा दुवै दल सहमति भए पनि सरकारमा सहभागी हुने दल थपघट भएमा केही परिवर्तन हुनसक्नेछन् । योसँगै नेपाली कांग्रेस र एमालेबाट मन्त्री हुनेको सुची तयार पार्न शीर्ष नेताहरू लागि परेका छन् ।


