सुर्खेत । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्नेदेखि सामूहिक राजस्व उठाउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णयसम्म गरेको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो।
त्यस्तै, कर्णाली प्रदेश सरकारको सामूहिक राजस्व उठाउने विषयमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकले हालै कर्णाली प्रदेशमा आउनुभएका प्रदेश सचिव रमेश केसीलाई कामकाजमा खटाउने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्का यी निर्णयसँगै प्रदेश सरकारको कर्मचारी व्यवस्थापन, राजस्व परिचालन तथा प्रशासनिक कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


