Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियएपस्टाइन फाइल सार्वजनिक भएपछि विश्वभर राजनीतिक हलचल, दर्जनौँ अधिकारी अनुसन्धानको घेरामा

एपस्टाइन फाइल सार्वजनिक भएपछि विश्वभर राजनीतिक हलचल, दर्जनौँ अधिकारी अनुसन्धानको घेरामा

काठमाडौं । अमेरिकी यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित गोप्य कागजात सार्वजनिक भएपछि विश्वव्यापी रूपमा राजनीतिक तथा कूटनीतिक हलचल देखिएको छ। अमेरिकी न्याय विभागले जनवरी ३० मा करिब ३० लाख पृष्ठका कागजात सार्वजनिक गरेपछि विभिन्न देशका उच्च पदस्थ अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन्।

रिपोर्टअनुसार कागजात सार्वजनिक भएपछि १० देशका १५ भन्दा बढी वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् भने ८० भन्दा बढी प्रभावशाली व्यक्तिहरू अनुसन्धानको घेरामा परेका छन्। कागजातमा राजनीतिज्ञ, राजदूत, अर्बपति तथा शाही परिवारसँग सम्बन्धित व्यक्तिहरूको नाम उल्लेख गरिएको छ। इमेल, उडान विवरण तथा सम्पर्क अभिलेखमा ७०० देखि १ हजार प्रभावशाली व्यक्तिहरूको नाम देखिएको बताइएको छ।

कागजातमा नाबालिग बालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपहरू पनि समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन लगायत उच्च-प्रोफाइल व्यक्तिहरूका नाम विभिन्न सन्दर्भमा उल्लेख भएको जनाइएको छ।

फाइल सार्वजनिक भएपछि युरोपमा सबैभन्दा बढी प्रभाव परेको देखिएको छ। बेलायतमा पूर्व राजदूत पिटर म्यान्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री केयर स्टारमरका प्रमुख कर्मचारी मोर्गन म्याकस्विनीले पदबाट राजीनामा दिएका छन्।

स्लोभाकियामा पूर्व विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लिचकले सयौँ आपराधिक इमेल तथा च्याट सार्वजनिक भएपछि पद त्याग गरेका छन्। स्विडेनकी वरिष्ठ कूटनीतिज्ञ जोआना रुबिनस्टाइन, नर्वेका राजदूत मोना जुल, अमेरिकी पूर्व श्रम सचिव एलेक्स अकोस्टा तथा एमआईटी प्रयोगशाला प्रमुख जोइची इटोले पनि राजीनामा दिएका छन्।

यस घटनाले विभिन्न देशका सरकारहरूलाई कूटनीतिक र राजनीतिक दबाबमा पारेको छ। बेलायती प्रहरीले नयाँ कागजातका आधारमा राजकुमार एन्ड्रयूविरुद्ध पुनः समीक्षा प्रक्रिया अघि बढाएको छ।

नर्वेमा राजदूत मोना जुल निलम्बनमा परेकी छन् भने पूर्व प्रधानमन्त्री थोर्बजोर्न जगल्याण्डमाथि भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु गरिएको छ। वरिष्ठ कूटनीतिज्ञ तेर्जे रोड-लार्सनमाथि पनि अनुसन्धान भइरहेको बताइएको छ।

फ्रान्समा पूर्व मन्त्री ज्याक लाङलाई आधिकारिक रूपमा सोधपुछका लागि बोलाइएको छ। पोल्याण्ड, लाटभिया र टर्कीले मानव बेचबिखनसँग सम्बन्धित संलग्नताको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छन्।

कागजात सार्वजनिक भएपछि केही प्रभावशाली व्यक्तिहरूले सार्वजनिक रूपमा माफी मागेका छन्। नर्वेकी युवराज्ञी मेट्टे–मारिटले इमेल र सञ्चार विवरण सार्वजनिक भएपछि संस्थागत समीक्षा गरिँदा माफी मागेकी छन्। माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले एपस्टाइनसँग भएको भेटघाटप्रति पछुतो व्यक्त गर्दै फाउन्डेसनको बोर्डबाट राजीनामा दिएका छन्।

इजरायलका पूर्व प्रधानमन्त्री एहुद बाराकको नाम पनि एपस्टाइनसँग सम्बन्धित भेटघाट विवरणमा देखिएपछि उनले स्पष्टीकरण दिएका छन्।

कागजातमा ट्रम्पको नाम हजारौँ पटक उल्लेख भएको र १९९० को दशकमा एपस्टाइनको निजी विमानमा पटक–पटक यात्रा गरेको विवरण रहेको जनाइएको छ। अनुसन्धानले एपस्टाइनको यौन शोषण सञ्जाल संयुक्त राज्य अमेरिकाभन्दा बाहिर विभिन्न देशसम्म फैलिएको देखाएको छ। अहिलेसम्म १५ देशका धनी व्यवसायी, राजनीतिज्ञ तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको नाम पहिचान गरिएको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका