काठमाडौं । बीबीसी न्यूज फारसीका अनुसार इरानको इस्फहानका २१ वर्षीय ससान आजादवर जोंगानीलाई फाँसी दिइएको छ।
यस वर्ष जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई इस्फहानस्थित दस्तगार्ड जेलमा मृत्युदण्ड दिइएको जनाइएको छ।
परिवार निकट स्रोतलाई उद्धृत गर्दै मानव अधिकारसम्बन्धी वेबसाइट एचआरएएनएले जनाएको अनुसार उनको अन्त्येष्टि बिहीबार दिउँसो ‘सुरक्षित क्षेत्र’मा गरिएको थियो, जहाँ सीमित रूपमा करिब १० जना आफन्तलाई मात्र उपस्थित हुन अनुमति दिइएको थियो।
इरानको न्यायपालिकाका अनुसार प्रदर्शनका क्रममा आजादवरले “अधिकारीहरू बोकेको सवारीसाधनमा ढुंगा र लाठी प्रहार गर्दै झ्याल फुटाएका र सुरक्षा अधिकारीमाथि आक्रमण गरेका” आरोप लगाइएको छ।
न्यायपालिकाले उनीमाथि सरकार “ढाल्ने उद्देश्य” सहित प्रदर्शनमा सहभागी भएको आरोप पनि लगाएको छ। साथै, प्रदर्शनअघि उनले अरूलाई पनि सडकमा उत्रन आह्वान गरेको दाबी गरिएको छ।
यद्यपि, मानव अधिकारकर्मीहरूले भने उनको हिरासतको अवस्था, कानुनी सहयोगको पहुँच तथा बयान लिइएको परिस्थिति स्पष्ट नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।


