Sunday, September 20, 2026
Homeअन्तराष्ट्रियइरानद्वारा अमेरिकासँग वार्ताका लागि सर्त प्रस्तुत, होर्मुज स्ट्रेट खोल्न पनि पूर्वसर्त

इरानद्वारा अमेरिकासँग वार्ताका लागि सर्त प्रस्तुत, होर्मुज स्ट्रेट खोल्न पनि पूर्वसर्त

काठमाडौं । इरानले अमेरिकासँग पुनः वार्ता अघि बढाउन आफ्ना सर्तहरू मध्यस्थकर्तामार्फत वासिङ्टनसमक्ष पुर्‍याएको जनाएको छ। इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरानले मध्यस्थकर्ताहरूको माध्यमबाट अमेरिकासम्म आफ्नो सन्देश र वार्तासम्बन्धी सर्तहरू पठाएको बताएका हुन्।

संसद्मा सम्बोधन गर्दै गालिबाफले इरान युद्धका लागि मात्र नभई कूटनीतिक प्रयासका लागि पनि तयार रहेको संकेत गरेका छन्। उनले इरानले ‘लड्नु पनि छ र वार्ता पनि गर्नु छ’ भन्ने नीति लिएको बताए।

उनले स्पष्ट सर्तहरू पूरा नभएसम्म वार्ता पुनः सुरु गर्ने र होर्मुज स्ट्रेट खोल्ने विषयमा कुनै निर्णय नहुने बताएका छन्। गालिबाफका अनुसार युद्धको अन्त्यका लागि स्पष्ट रणनीति नबनाई केवल युद्धको चर्चा गर्दा कूटनीतिक सम्भावना कमजोर हुने र दीर्घकालीन द्वन्द्वतर्फ परिस्थिति धकेलिन सक्ने जोखिम रहन्छ।

यसअघि शनिबार इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव मोहसिन रेजाईले पनि तेहरानले अमेरिकासँग वार्ता पुनः सुरु गर्न आवश्यक सर्तहरू मध्यस्थकर्तामार्फत वासिङ्टनसमक्ष पुर्‍याइसकेको बताएका थिए। उनका अनुसार कतारले इरानका सर्तहरू अमेरिकासम्म पुर्‍याएको छ भने पाकिस्तानले पनि मध्यस्थताका प्रयास गरिरहेको छ।

रेजाईले वार्ता अघि बढाउन इरानले सातवटा सर्त प्रस्तुत गरेको बताएका छन्। उनले सार्वजनिक रूपमा ती सबै सर्त खुलाएका छैनन्। तर उनले उल्लेख गरेका प्रमुख मागमा सबै मोर्चामा युद्ध अन्त्य, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने विषय छन्।

रेजाईका अनुसार इरान अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको प्रतीक्षामा छ। उनले वार्ताका लागि इरानको धारणा स्पष्ट रहेको बताउँदै आवश्यक सर्त पूरा भएमा कूटनीतिक प्रक्रियालाई अघि बढाउन सकिने संकेत गरेका छन्।

होर्मुज स्ट्रेटको विषय पनि वार्ताको महत्वपूर्ण मुद्दा बनेको छ। रेजाईले यसअघि इरान र ओमानबीच स्ट्रेट पुनः खोल्ने विषयमा एउटा सम्भावित सहमतिको खाका तयार भएको तर त्यसको घोषणा रोकिएको बताएका थिए।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धबारे आगामी कदमका विषयमा महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था रहेको बताएका छन्। क्षेत्रीय तनावबीच कूटनीतिक प्रयास र सैन्य विकल्प दुवैबारे चर्चा भइरहेका बेला इरानले भने आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्ता अघि नबढाउने धारणा दोहोर्‍याएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका