Monday, May 11, 2026
Homeअन्तराष्ट्रियइरान युद्धबारे छलफल गर्न ट्रम्प बेइजिङ जाँदै, सी जिनपिङसँग वार्ता हुने

इरान युद्धबारे छलफल गर्न ट्रम्प बेइजिङ जाँदै, सी जिनपिङसँग वार्ता हुने

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्ध लगायत विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गर्न बुधबार साँझ बेइजिङ पुग्ने भएका छन् ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । ह्वाइट हाउसकी प्रमुख उप–प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान औपचारिक स्वागत समारोह र मुख्य बैठक हुनेछ भने ट्रम्पको भ्रमण शुक्रबार सम्पन्न हुनेछ ।

अमेरिकाले यसै वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सीलाई पनि औपचारिक भ्रमणका लागि अमेरिका निमन्त्रणा गर्ने तयारी गरेको जनाएको छ ।

अन्ना केलीले ट्रम्पको चीन भ्रमणलाई अत्यन्त प्रतीकात्मक र रणनीतिक महत्त्वको भ्रमणका रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार भ्रमणको मुख्य उद्देश्य चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउने, पारस्परिकता र निष्पक्षतालाई प्राथमिकता दिने तथा अमेरिकी आर्थिक स्वतन्त्रतालाई सुदृढ बनाउने रहेको छ ।

यसअघि वर्षको सुरुवातमै तय भएको यो भ्रमण अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणका कारण स्थगित भएको थियो । हाल ट्रम्प प्रशासन युद्धको प्रभाव नियन्त्रण गर्न आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा सक्रिय देखिएको छ ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्पले चीनमाथि इरानको तेल खरिद तथा सैन्य तथा नागरिक प्रयोजनका सामग्री आपूर्तिको विषयमा दबाब दिन सक्नेछन् ।

गत साता अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले चीनले इरानलाई आर्थिक रूपमा सहयोग गरिरहेको आरोप लगाएका थिए । उनका अनुसार चीनले इरानको करिब ९० प्रतिशत ऊर्जा खरिद गर्दै आएको छ ।

इरानले अमेरिका र इजरायलको आक्रमणपछि विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व अर्थतन्त्रमा असर देखिएको छ । विशेषगरी पश्चिम एसियाबाट ऊर्जा आयातमा निर्भर एसियाली देशहरू प्रभावित भएका छन् ।

चीनले भने युद्ध अन्त्यको पक्षमा रहेको बताउँदै हालै इरानी विदेशमन्त्री अब्बास अराघ्चीलाई बेइजिङमा स्वागत गरेको थियो । साथै चीनले इरानमाथि अमेरिकाले लगाएको एकपक्षीय प्रतिबन्धलाई अस्वीकार गर्दै आएको छ ।

वार्ताका क्रममा ट्रम्पले रुसलाई चीनले गरिरहेको समर्थन, व्यापार असन्तुलन तथा दुर्लभ खनिज पदार्थको विषय पनि उठाउन सक्ने बताइएको छ । अमेरिकी प्रतिनिधिमण्डलसँग बोइङ तथा केही कृषि कम्पनीका प्रमुख कार्यकारीहरू पनि चीन गएका छन् ।

ताइवानको विषयमा भने अमेरिकाको नीति यथावत रहने जनाइएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको भए पनि अमेरिकाले त्यहाँ सुरक्षा र आर्थिक सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका