एजेन्सी । इरानमा जारी युद्धप्रति चीनले कूटनीतिक र सैन्य दुवै तहबाट समानान्तर प्रतिक्रिया दिएको छ। कूटनीतिक प्रवक्ता र जनमुक्ति सेना (पीएलए) का सैन्य प्रवक्तामार्फत आएको सन्देशले चीनले यस अवस्थालाई केवल राजनीतिक तनाव मात्र नभई सम्भावित सैन्य जोखिमका रूपमा पनि लिएको संकेत गरेको छ।
पीएलएका प्रवक्ताले प्रतीकात्मक भाषामा संयुक्त राज्य अमेरिकालाई ‘युद्धको लतमा परेको’ देशका रूपमा चित्रण गरेका छन्। छोटो इतिहासको अधिकांश समय युद्धमै बिताएको भन्दै उनले अमेरिकालाई विश्वका लागि खतरा भएको टिप्पणी गरेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मार्क्सवाद र कन्फ्युशियस दर्शनबीच सम्बन्ध जोड्दै राजनीतिक भाषामा नैतिकता र सटिक अभिव्यक्तिलाई जोड दिएका छन्। यही आधारमा चीनले इरानमा भइरहेको युद्धलाई नैतिक धरातल गुमाएको आक्रमणका रूपमा चित्रण गर्ने प्रयास गरिरहेको देखिन्छ।
युद्धको मैदानमा पनि चीनको अप्रत्यक्ष प्रभाव देखिन थालेको विश्लेषण गरिएको छ। इरानले आफ्नो ‘ग्रिड’ प्रणालीलाई चिनियाँ ‘बेदु’ उपग्रह प्रणालीसँग जोडेको बताइएको छ, जसले लक्षित आक्रमणको सटीकता बढाएको छ। यसले क्षेप्यास्त्र र ‘जामिङ’ विरुद्ध प्रतिरोध क्षमता पनि सुदृढ बनाएको उल्लेख छ।
इरान र चीनबीच २५ वर्षे रणनीतिक सहकार्य सम्झौता अन्तर्गत सैन्य तथा प्राविधिक सहयोग विस्तार भएको बताइन्छ। उता रूसले पनि आफ्नो युद्ध अनुभव साझा गर्दै इरानलाई समर्थन गरिरहेको छ, विशेषगरी ड्रोन तथा मिसाइल रणनीतिमा।
युद्धसँगै ऊर्जा र वित्तीय क्षेत्रमा पनि नयाँ समीकरण देखिन थालेको छ। ‘स्ट्रेट अफ हर्मुज’मार्फत हुने तेल कारोबारमा इरानले चिनियाँ मुद्रा ‘युआन’लाई प्राथमिकता दिएको दाबी गरिएको छ। यसले ‘पेट्रोडलर’ प्रणालीलाई चुनौती दिने ‘पेट्रोयुआन’ अवधारणालाई अगाडि बढाएको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार यदि यो प्रवृत्ति विस्तार भयो भने सन् १९७० को दशकदेखि स्थापित अमेरिकी डलर केन्द्रित ऊर्जा कारोबार प्रणालीमा ठूलो परिवर्तन आउन सक्छ। ‘ब्रिक्स’ समूहमा आबद्ध चीन, रूस र इरानले वैकल्पिक भुक्तानी प्रणाली विकास गर्ने प्रयास गरिरहेका छन्।
समग्रमा, इरान युद्धले केवल सैन्य द्वन्द्व मात्र नभई वैश्विक शक्ति सन्तुलन, ऊर्जा व्यापार र वित्तीय प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने संकेत देखिएको छ।


