काठमाडौं । अमेरिकी कम बजेटको एयरलाइन्स स्पिरिट गम्भीर आर्थिक संकटका कारण पतनको संघारमा पुगेको छ। शुक्रबार सरकारले आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन नसकेपछि कम्पनीको भविष्य थप अनिश्चित बनेको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एयरलाइन्सलाई बचाउन अन्तिम प्रस्ताव अघि सारे पनि सम्झौता हुन नसक्दा प्रयास असफल भएको जनाइएको छ। ट्रम्प प्रशासनले करदाताको पैसाबाट कम्पनी अधिग्रहण गर्ने विकल्पसमेत अघि सारेको थियो।
रोयटर्सका अनुसार कम्पनी बन्द हुने तयारीतर्फ उन्मुख छ। स्पिरिट एयरलाइन्स वा प्रशासनका तर्फबाट यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन। पछिल्ला दुई वर्षमा दोस्रो पटक दिवालिया प्रक्रियामा पुगेको कम्पनीले यसपटक सञ्चालन स्थगित गर्न सक्ने संकेत देखिएको छ।
कम्पनीका वकिल मार्शल ह्युबनरका अनुसार एयरलाइन्स बन्द भए करिब १७ हजार रोजगारीमा असर पर्न सक्छ। कोभिड–१९ महामारीपछि निरन्तर आर्थिक दबाब झेलिरहेको कम्पनीमा सञ्चालन खर्च र ऋण दुवै बढ्दै गएका छन्।
बढ्दो इन्धन मूल्यले पनि समस्यालाई झनै गम्भीर बनाएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेपछि इन्धन खर्च उच्च हुँदा एयरलाइन्सहरू घाटामा गएका छन्। यसबीच केही एयरलाइन्सहरूले इन्धन मूल्य नियन्त्रणका लागि सरकारसँग हस्तक्षेपको मागसमेत गरेका छन्।


