काठमाडौं । संघीय संसद्अन्तर्गतका तीन महत्वपूर्ण संसदीय समितिको बैठक आज बस्दैछ। बैठकहरूमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण तथा त्यससँग सम्बन्धित विषयमा छलफल गरिनेछ।
त्यसैगरी राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रममाथि विस्तृत छलफल गरिने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रिय सभाअन्तर्गतकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी, आवश्यक व्यवस्थापन तथा सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ।
संसदीय समितिका यी बैठकहरूमा सरकारका नीति, कार्यक्रम र तयारीबारे समीक्षा तथा आवश्यक सुझाव प्रस्तुत गरिने अपेक्षा गरिएको छ।


