Thursday, July 9, 2026
Homeखेलकुदअर्जेन्टिना–इजिप्ट खेलमा रेफ्रीको निर्णय निष्पक्ष रहेको फिफाको स्पष्टिकरण

अर्जेन्टिना–इजिप्ट खेलमा रेफ्रीको निर्णय निष्पक्ष रहेको फिफाको स्पष्टिकरण

काठमाडौं । फिफाका रेफ्री प्रमुख पियरलुइगी कोलिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको अन्तिम १६ को खेलमा रेफ्रीले गरेका निर्णय पूर्वाग्रही नभएको स्पष्ट पारेका छन्।

फिफासँगको अन्तर्वार्तामा बोल्दै कोलिनाले गोलपछि भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले गोल हुनुअघिको सम्पूर्ण आक्रमणको चरणको समीक्षा गर्ने प्रावधान रहेको बताए।

उनका अनुसार यदि गोल हुनुअघि भएको कुनै फाउलले प्रत्यक्ष रूपमा गोल हुन सहयोग गरेको देखिएमा गोल रद्द गर्न सकिन्छ। फाउल र गोलबीच समय वा दूरीको कुनै निश्चित सीमा नहुने उनले स्पष्ट पारे।

कोलिनाका अनुसार उक्त खेलमा इजिप्टका मरवान अतियाले अर्जेन्टिनाका लिसेन्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएका थिए। मैदानका रेफ्रीले नदेखे पनि स्पष्ट फाउल देखिएपछि VAR ले हस्तक्षेप गर्न मिल्ने उनले बताए।

उनले भने, “जुनसुकै फाउल पनि फाउल नै हो। यदि मैदानका रेफ्रीले नदेखेको स्पष्ट फाउल भए VAR ले हस्तक्षेप गर्न सक्छ।”

यस्तै, खेलको अन्त्यतिर मोहम्मद सलाहजुलियन अल्भारेजबीच भएको सम्पर्कलाई उनले सामान्य फुटबल सम्पर्क (Normal Football Contact) को संज्ञा दिए। डिफेन्डरले पहिले बलमा खेलिसकेको अवस्थामा त्यसपछि हुने सामान्य शारीरिक सम्पर्कलाई फाउल मान्न नहुने उनको भनाइ थियो।

कोलिनाले प्रतियोगिताभर रेफ्रीहरूको समग्र प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै छोटो अवधिमा धेरै खेल सञ्चालन गर्दा कहिलेकाहीँ त्रुटि देखिनु स्वाभाविक भए पनि रेफ्रीहरू प्रत्येक खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध रहेको बताए।

साथै, उनले रेफ्रीहरूको इमानदारीमाथि आधारहीन आरोप नलगाउन आग्रह गरे।

उनले भने, “निर्णयबारे स्वस्थ बहस हुनु स्वाभाविक हो, तर प्रमाणविहीन आरोप लगाउनु गलत हो।”

कोलिनाले यस्ता आरोपले रेफ्री र उनीहरूका परिवारको सुरक्षामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गर्दै फिफाको रेफ्री टोली पूर्ण रूपमा स्वतन्त्र रूपमा काम गर्ने बताए। उनका अनुसार फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि रेफ्रीहरूको निर्णय प्रक्रियामा कुनै हस्तक्षेप नगरी उनीहरूको स्वतन्त्रतालाई सम्मान गर्दै आएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका