वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गरेका छन्। भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि प्रशासनले कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा सो कुरा उल्लेख गरिएको हो।
एएफपीले बिहीबार उद्धृत गरेको पत्रअनुसार अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन आक्रमणलाई कानूनी औचित्य दिन यो घोषणा गरिएको हो। ती घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावकै बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चालेको छ। यस क्रममा क्यारिबियन क्षेत्रमा अमेरिकी नौसेना र वायुसेनाको ठूलो उपस्थिति देखिएको छ।
पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ, “राष्ट्रपतिले कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ। उनीहरूलाई आतंकवादी संगठनमा सूचीकृत गरिएको छ, र तिनका गतिविधि संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण मानिएको छ।”
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीका अनुसार, ट्रम्पले अन्तर्राष्ट्रिय कानूनअनुसार कार्टेलहरूको गतिविधि रोक्न कदम चालेका हुन्। “राष्ट्रपतिले अमेरिकी नागरिकलाई घातक विष (लागुऔषध) बाट जोगाउन आफ्नो दायित्व पूरा गर्नुभएको छ,” उनले भनिन्।
तर कानूनी विज्ञहरूले भने अमेरिकी सेनाको हालैको आक्रमण विवादास्पद भएको टिप्पणी गरेका छन्। भेनेजुएलाले पनि आफ्नो तट नजिकै पाँच अमेरिकी लडाकू विमान ‘अवैध घुसपैठ’ गरेको आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ। रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले यसलाई ‘उक्साहट’ र ‘राष्ट्रिय सुरक्षाका लागि प्रत्यक्ष खतरा’ भन्दै निन्दा गरे।
यसअघि ट्रम्पले पोर्टो रिकोमा १० वटा एफ–३५ लडाकू विमान पठाएका थिए, जुन तीन दशकयता क्यारिबियन क्षेत्रमा गरिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनाथी मानिएको छ। साथै, लागुऔषध नियन्त्रण अभियान अन्तर्गत युद्धपोत र आणविक पनडुब्बी पनि पठाइएको थियो।
गत महिनामात्र भेनेजुएलाका दुईवटा सैन्य विमानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरेपछि ट्रम्पले काराकासलाई चेतावनी दिएका थिए—“यदि यस्ता गतिविधि दोहोरिए भने भेनेजुएलाका लडाकू विमानलाई गोली हानेर खसालिनेछ।”
यसैबीच, राष्ट्रपति मदुरोले ट्रम्प प्रशासनलाई शासन परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै अमेरिकी कदमलाई प्रत्यक्ष हस्तक्षेपको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।


