काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सेनाका पूर्व मेजर निदाल मलिक हसनलाई गोली हानेर मृत्युदण्ड दिने प्रक्रिया अघि बढाएको छ।
अमेरिकी सेनाले ६० वर्षभन्दा बढी समयपछि पहिलोपटक कुनै सैनिकलाई गोली हानेर मृत्युदण्ड दिन लागेको हो।
हसनले सन् २००९ मा टेक्ससस्थित फोर्ट हुड सैन्य अखडामा गोली चलाउँदा १३ जना निहत्था अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य ३२ जना घाइते भएका थिए।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले सोमबार सामाजिक सञ्जालमार्फत रक्षा मन्त्री पिट हेगसेथले हसनलाई मृत्युदण्ड दिने सजाय कार्यान्वयनका लागि सिफारिस गरेको र त्यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएको जानकारी दिएका छन्।
पार्नेलका अनुसार सेनाका सचिवले मृत्युदण्ड कार्यान्वयनको मिति र स्थान तय गर्नेछन्। उनले सामाजिक सञ्जाल एक्समा हसनका लागि ‘अन्ततः न्यायको दिन आएको’ उल्लेख गरेका छन्।
भर्जिनियाका बासिन्दा हसन अमेरिकी सेनामा मनोचिकित्सकका रूपमा कार्यरत थिए। सन् २०१३ मा भएको सैन्य अदालतको सुनुवाइका क्रममा उनले आफू नै फोर्ट हुड आक्रमणको जिम्मेवार रहेको स्वीकार गरेका थिए।