होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएर आगलागी भएको इरानको दाबी

होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएर आगलागी भएको इरानको दाबी

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ।

इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरी अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ। तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ। यद्यपि जहाजहरूको नाम र उत्पत्तिबारे खुलाइएको छैन।

फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता तेहरानले होर्मुज जलडमरुमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ। अनुमति नलिई प्रवेश गर्ने जहाजमाथि आक्रमणसमेत भएका छन्।

यसैबीच, इरानले रणनीतिक जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ। साथै, उक्त जलमार्ग प्रयोग गर्ने तेल ट्यांकरहरूलाई सैन्य सुरक्षा सहयोग उपलब्ध गराउँदै आएको छ।

पछिल्ला साताहरूमा होर्मुज जलडमरुमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ। शुक्रबार पनि ग्यास बोकेको एउटा जहाज समुद्री बारुदमा ठोक्किएको दाबी गर्दै इरानले धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको थियो।

यद्यपि, अमेरिकी सेनाले भने जलमार्गका मुख्य आवागमन मार्गबाट समुद्री बारुद हटाइसकेको जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!