रुस–युक्रेन युद्ध थप तीव्र, ऊर्जा पूर्वाधारदेखि ड्रोन केन्द्रसम्म आक्रमण

रुस–युक्रेन युद्ध थप तीव्र, ऊर्जा पूर्वाधारदेखि ड्रोन केन्द्रसम्म आक्रमण

काठमाडौं । रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गर्दै आक्रमण तीव्र बनेको छ। दुवै देशले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसी ड्रोन केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ।

रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले पछिल्लो एक सातामा युक्रेनका सैन्य उद्योग, लजिस्टिक केन्द्र तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी दुईवटा ठूलो स्तरका र १२ वटा समूहगत आक्रमण गरेको छ।

मन्त्रालयले हतियार ढुवानी गरिरहेका युक्रेनका १५ वटा सुख्खा मालवाहक पानीजहाजमा समेत आक्रमण गरेको दाबी गरेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा खार्किभ र सुमी क्षेत्रमा रहेका दुईवटा बस्ती आफ्नो नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

यता, युक्रेनको सशस्त्र सेनाको जनरल स्टाफले शुक्रबार बिहान रुसी सहर रोस्तोभ-अन-डनमा रहेका तीनवटा ड्रोन केन्द्रमा आक्रमण गरेको जनाएको छ। युक्रेनी नौसेनाले आर–३६० नेप्च्युन क्षेप्यास्त्र प्रणाली प्रयोग गरी ती केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ।

युक्रेनी सेनाका अनुसार पछिल्लो २४ घण्टामा अग्रपङ्क्तिमा १७५ वटा भिडन्त भएका छन्। युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी सैनिक भेला हुने क्षेत्र तथा ड्रोन नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरेका छन्।

दुवै पक्षले सार्वजनिक गरेका विवरणमा एकअर्काका सैन्य संरचना, पूर्वाधार र रणनीतिक केन्द्रमा भएका आक्रमण तथा सैन्य सफलतासम्बन्धी दाबी समेटिएका छन्। यद्यपि, दुवै पक्षका दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

लिङ्क सफलतापूर्वक कापि गरियो!