अस्ट्रेलियामा आप्रवासनविरुद्ध प्रदर्शन चर्कियो, संसद् भवनअगाडि उत्रिए प्रदर्शनकारी

अस्ट्रेलियामा आप्रवासनविरुद्ध प्रदर्शन चर्कियो, संसद् भवनअगाडि उत्रिए प्रदर्शनकारी

क्यानबेरा । अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवनअगाडि प्रदर्शन गरिएको छ। ‘अस्ट्रेलिया मार्चेज्–आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजित प्रदर्शन देशका विभिन्न सहरमा सञ्चालन हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो।

आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेडेरेसन मलमा प्रदर्शन आयोजना गरेका थिए। प्रदर्शनकारीहरूले आप्रवासनको सङ्ख्या घटाउन, ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा पुनर्विचार गर्न, राजनीतिक निर्णय प्रक्रियालाई विदेशी प्रभावबाट मुक्त राख्न तथा आवास र जीवनयापनको बढ्दो लागत नियन्त्रण गर्न माग गरेका छन्।

सेप्टेम्बर १३ देखि सुरु भएको अभियान ब्रिस्बेन, डार्बिन, पर्थ, एडिलेड, मेलबर्न र सिड्नी हुँदै क्यानबेरासम्म पुगेको हो। अभियानका प्रमुख आयोजक स्कट चालेन र साम बामफोर्डलगायतले विभिन्न सहरमा आयोजित कार्यक्रममा आप्रवासन नीतिबारे आफ्ना धारणा राख्दै आएका छन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ब्रिस्बेनका एक ट्रक चालकले अस्ट्रेलियालाई दक्ष कामदार, डाक्टर, नर्स र इन्जिनियरको सधैँ आवश्यकता रहने भए पनि जथाभावी तथा गैरकानुनी आप्रवासनका कारण अहिलेको परिस्थिति सिर्जना भएको दाबी गरे।

यसअघि नोभेम्बर ८ मा सिड्नीमा आयोजित प्रदर्शनमा पनि सयौँ मानिस सहभागी भएका थिए। प्रदर्शनकारीहरूले ‘सीमा बन्द गर’ र ‘आप्रवासन फिर्ता गर’ जस्ता नारा लगाएका थिए। उक्त प्रदर्शनमा केही वक्ताहरूले भारत, अफ्रिका, एसिया र मध्यपूर्वबाट आउने आप्रवासीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्तिसमेत दिएका थिए।

अस्ट्रेलियामा आप्रवासनको विषय पछिल्लो समय राजनीतिक बहसको केन्द्रमा छ। आवास अभाव, घरभाडा वृद्धि, पूर्वाधारमा बढ्दो दबाब र जीवनयापनको महँगीलाई आप्रवासनसँग जोडेर विरोध गर्नेहरू बढिरहेका छन्। यद्यपि, आप्रवासी समुदायले देशको आर्थिक विकास, श्रम बजार र बहुसांस्कृतिक पहिचान निर्माणमा आप्रवासीहरूको योगदानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँदै आएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!