वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छैनन् । तर, उनको बढ्दो राजनीतिक सक्रियता र समर्थकहरूको उत्साहसँगै सम्भावित उम्मेदवारीबारे चर्चा तीव्र बनेको छ । यद्यपि, आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने भान्स शुक्रबार आफ्नो गृहराज्य ओहायोको लिमामा आयोजित चुनावी सभामा सहभागी भए । मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूको पक्षमा समर्थन जुटाउन आयोजित सभामा उनलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए । कार्यक्रममा ‘भान्स २०२८’ लेखिएका टोपी लगाएका समर्थकसमेत देखिएका थिए ।
यद्यपि, भान्सले ओहायोको मध्यावधि निर्वाचन र सन् २०२८ को राष्ट्रपतीय निर्वाचनबीच प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन् । उनका अनुसार अहिलेको निर्वाचन आगामी वर्षहरूमा देशको शासन सञ्चालन र राजनीतिक दिशा निर्धारणका दृष्टिले महत्त्वपूर्ण छ ।
यसैबीच, विभिन्न जनमत सर्वेक्षणले राष्ट्रपति ट्रम्पको खस्किँदो लोकप्रियता, इरानसँगको तनाव र बढ्दो जीवनयापन खर्चका कारण रिपब्लिकन पार्टीले अमेरिकी कङ्ग्रेसमा आफ्नो बहुमत गुमाउन सक्ने संकेत गरेका छन् ।
ओहायोमा सिनेटको एक सिट र गभर्नर पदका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । गभर्नर पदमा पूर्वराष्ट्रपतीय उम्मेदवार विवेक रामास्वामी प्रतिस्पर्धामा छन् । ट्रम्पले पनि हालै उक्त राज्यको भ्रमण गरेका थिए ।
कङ्ग्रेसमा बहुमत गुमाउनु ट्रम्पका लागि राजनीतिक चुनौती बन्न सक्छ । त्यस अवस्थामा विपक्षी डेमोक्र्याटहरूले विभिन्न संसदीय छानबिन र अनुसन्धानलाई अघि बढाउन सक्नेछन् । अर्कोतर्फ, आफ्नै गृहराज्य ओहायोमा रिपब्लिकनहरूको कमजोर प्रदर्शन भएमा त्यसले भान्सको राजनीतिक छविमा समेत असर पार्न सक्छ ।
सन् २०२८ मा ट्रम्पका सम्भावित उत्तराधिकारी भान्स?
रिपब्लिकन पार्टीभित्र ट्रम्पका सम्भावित उत्तराधिकारीका रूपमा भान्सलाई प्रमुख दाबेदारमध्ये एक मानिएको छ । तर, उनले राष्ट्रपतीय उम्मेदवारीबारे औपचारिक घोषणा गरेका छैनन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भान्ससँग प्रतिस्पर्धा नगर्ने संकेत दिएका छन् । यद्यपि, रुबियोका पछिल्ला सार्वजनिक अभिव्यक्तिलाई सम्भावित राष्ट्रपतीय आकाङ्क्षासँग जोडेर विश्लेषण गरिँदै आएको छ ।
४२ वर्षीय भान्सले आफ्नो राजनीतिक छवि सुदृढ बनाउन परिवारलाई समेत सार्वजनिक कार्यक्रममा सहभागी गराउन थालेका छन् । हालै उनले पत्नी उषा, तीन सन्तान र घरपालुवा कुकुर एटलससँग सिनसिनाटीको यात्रा गर्दै अग्रिम मतदान गरेका थिए ।
रिपब्लिकन नेसनल कमिटीको आर्थिक स्रोत संकलनसम्बन्धी जिम्मेवारीसँग जोडिएका कारण भान्सलाई पार्टीका प्रभावशाली नेता तथा ठूला दाताहरूसँग सम्बन्ध विस्तार गर्ने अवसरसमेत मिलेको छ ।
ट्रम्प प्रशासनका विवादास्पद नीतिका कारण उत्पन्न राजनीतिक दबाबबाट आफूलाई अलग देखाउने प्रयासमा रहेका भान्सले अमेरिकी परिवारहरूले भोगिरहेका आर्थिक कठिनाइप्रति आफू सचेत रहेको सन्देश दिँदै आएका छन् । यसले विगतमा ट्रम्पप्रति आलोचनात्मक धारणा राखेका कारण बनेको उनको राजनीतिक छवि परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शुक्रबार भान्सले अमेरिकी रक्षामन्त्री पिट हेगसेथको मृत्युदण्डसम्बन्धी पछिल्लो घोषणाबारे पनि आफ्नो धारणा सार्वजनिक गरे । अमेरिकी सेनाले फायरिङ स्क्वाडमार्फत दिइने मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजनाबारे सोधिएको प्रश्नमा उनले आफूले त्यस्तो प्रसारण नहेर्ने बताए । उक्त योजना कार्यान्वयन हुनेमा समेत उनले शङ्का व्यक्त गरे ।