रियाद विमानस्थलमा शृङ्खलाबद्ध विस्फोटको खबर, एयर इन्डिया र एक्सप्रेसका उडान रद्द

रियाद विमानस्थलमा शृङ्खलाबद्ध विस्फोटको खबर, एयर इन्डिया र एक्सप्रेसका उडान रद्द

काठमाडौं । साउदी अरबको राजधानी रियादमा शृङ्खलाबद्ध विस्फोट भएको खबर सार्वजनिक भएको छ। विस्फोटका कारण किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रभावित भएको जनाइएको छ।

उडान ट्र्याकिङ सेवा फ्लाइटराडार२४ ले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत रियाद विमानस्थल पुनः बन्द भएको जानकारी दिएको थियो। उक्त सेवाका अनुसार विमानस्थलमा अन्तिम अवतरण ८० मिनेटभन्दा बढी र अन्तिम उडान ९० मिनेटभन्दा बढी समयअघि भएको थियो।

यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेका छन्। यद्यपि, आक्रमणको विस्तृत विवरण र क्षतिको आधिकारिक पुष्टि हुन सकेको छैन।

विमानस्थलमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले अक्टोबर १० सम्म रियादतर्फका आफ्ना सबै उडान रद्द गरेको जनाइएको छ।

यसअघि साउदी अरबले हुती विद्रोहीको आक्रमणमा एक जनाको मृत्यु भएको र कैयौँ व्यक्ति घाइते भएको पुष्टि गरेको थियो।

प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि विमानस्थल परिसरमा दमकल र एम्बुलेन्स परिचालन गरिएका थिए। आकाशमा बाक्लो धुवाँ देखिएको थियो भने प्रस्थान गर्ने उडानहरू रोकिएका थिए। यात्रुलाई चेक-इन गरिसकेका सामान विमानस्थलमै छाडेर बाहिर निस्कन निर्देशन दिइएको बताइएको छ।

आक्रमणबाट कति उडान प्रभावित भए भन्ने विवरण तत्काल स्पष्ट हुन सकेको छैन। साउदी अधिकारीहरूले पछिल्लो घटनाबारे औपचारिक प्रतिक्रिया नदिएको जनाइएको छ।

यसैबीच, यमनको होदेइदाह विमानस्थलनजिक पनि विस्फोटका आवाज सुनिएको खबर आएको छ। ती विस्फोटको कारण र त्यसबाट भएको क्षतिबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

लिङ्क सफलतापूर्वक कापि गरियो!