ट्रम्प प्रशासनद्वारा क्यानडाका केही सामानमा ५० प्रतिशत भन्सार शुल्क हटाउने निर्णय

ट्रम्प प्रशासनद्वारा क्यानडाका केही सामानमा ५० प्रतिशत भन्सार शुल्क हटाउने निर्णय

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचन आउन दुई साता मात्र बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडाका केही सामानमा लगाउँदै आएको ५० प्रतिशत भन्सार शुल्क हटाउने निर्णय गरेको छ।

ह्वाइट हाउसका अनुसार आगामी अक्टोबर ३० देखि लागू हुने गरी प्लाइउड, केही कागजजन्य उत्पादन, मेसिनरी तथा रेफ्रिजरेसन उपकरणमा भन्सार शुल्क छुट दिइनेछ।

यस निर्णयलाई मेन राज्यकी रिपब्लिकन सिनेटर सुसन कोलिन्सको चुनावी अवस्थासँग जोडेर हेरिएको छ। कडा चुनावी प्रतिस्पर्धामा रहेकी कोलिन्सले आफ्नो राज्यको कृषि उद्योगलाई राहत दिन भन्सार शुल्क हटाउन आफूले निरन्तर पहल गर्दै आएको बताएकी छन्।

यद्यपि, केही वस्तुमा भन्सार शुल्क हटाइए पनि कार्पेटलगायत अन्य केही सामग्रीमा भने नयाँ शुल्क लगाइने ह्वाइट हाउसले जनाएको छ।

अमेरिका र क्यानडाबीच गत अगस्टमा व्यापार वार्ता असफल भएपछि ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा भन्सार शुल्क लगाएको थियो। त्यसको प्रत्युत्तरमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि अमेरिकी सामानमा सोही बराबरको प्रतिशुल्क लगाएका थिए। यसले दुई देशबीचको व्यापारिक तनाव थप बढाएको छ।

क्यानडाका आन्तरिक व्यापारमन्त्री डोमिनिक लेब्लान्कले अमेरिकाको पछिल्लो निर्णयबारे मूल्याङ्कन भइरहेको बताएका छन्। उनले दुवै देशको हित हुने व्यापार सम्झौताका लागि क्यानडा सधैँ तयार रहेको पनि स्पष्ट पारेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!