चोरीको आइफोन खोल्न परिवारलाई नै पासवर्ड माग्दै म्यासेज, घटना सामाजिक सञ्जालमा भाइरल

चोरीको आइफोन खोल्न परिवारलाई नै पासवर्ड माग्दै म्यासेज, घटना सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । भारतको उत्तराखण्डस्थित देहरादुनको क्लेमेन्ट टाउनबाट गत सेप्टेम्बर १२ मा चोरी भएको एउटा आइफोनलाई लिएर अनौठो घटना बाहिर आएको छ। चोरी भएको फोन राख्ने व्यक्तिले नै पीडित परिवारलाई लगातार म्यासेज पठाउँदै आइफोनको पासवर्ड मागेको खुलासा भएको छ।

पीडित महिला कौशिकी ध्यानीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै चोरी भएको आइफोनबाट परिवारलाई एसएमएस तथा ह्वाट्सएपमार्फत म्यासेज पठाएर पासवर्ड मागिएको बताएकी छन्।

चोरी भएको आइफोनको ‘लस्ट मोड’ वा लक स्क्रिनमा देखाइएको आपत्कालीन सम्पर्क नम्बरका आधारमा शङ्कास्पद व्यक्तिले पीडित परिवारसँग सम्पर्क गरेको जनाइएको छ। त्यसपछि आइफोन अनलक गर्न पासवर्ड माग्दै लगातार म्यासेज पठाइएको थियो।

कौशिकीका अनुसार म्यासेज आएपछि उनी राति करिब १० बजे प्रहरी चौकी पुगेकी थिइन्। तर प्रहरीले तत्काल कारबाही गर्नुको सट्टा भोलिपल्ट बिहान आउन भन्दै फर्काएको उनको आरोप छ। पीडित पक्षले म्यासेजका स्क्रिनसट, सीसीटीभी फुटेज तथा शङ्कास्पद व्यक्तिको तस्बिर प्रहरीलाई उपलब्ध गराए पनि तत्काल ठोस कारबाही नभएको गुनासो गरेका छन्।

त्यही रात क्लेमेन्ट टाउन, डीआईटी युनिभर्सिटी तथा ग्राफिक्स एरा युनिभर्सिटी आसपासका होस्टेल र पीजीबाट लाखौँ रुपैयाँ मूल्य बराबरका मोबाइल, ल्यापटप तथा म्याकबुक चोरी भएको र ती घटनामा एउटै गिरोह संलग्न रहेको दाबीसमेत गरिएको छ।

यस विषयमा देहरादुनका नगर प्रहरी उपरीक्षक शेखर सुयालले चोरी भएको मोबाइललाई सोही दिनदेखि प्रहरीको ट्र्याकिङ पोर्टलमा दर्ता गरी खोजी भइरहेको बताएका छन्। उपलब्ध सीसीटीभी फुटेज र म्यासेजका आधारमा घटनाको अनुसन्धान अघि बढाइने सम्बन्धित वृत्त अधिकारीले बताएका छन्।

इन्स्टाग्राममा भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आइफोन लक भएकाले प्रयोग गर्न नसकेपछि चोरले परिवारसँग पासवर्ड मागेको भन्दै व्यङ्ग्य गरेका छन्। साथै, प्रमाणसहित प्रहरीकहाँ पुग्दा पनि तत्काल कारबाही नभएको भन्दै केही प्रयोगकर्ताले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!