काठमाडौँ । उत्तर कोरियाले आफ्नो नौसैनिक क्षमता र युद्ध प्रतिरोधात्मक शक्ति अभिवृद्धि गर्ने उद्देश्यले बुधबार पनडुब्बीबाट प्रहार गरिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले बिहीबार परीक्षण सफल भएको जानकारी दिएको हो ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको सैन्य प्राथमिकतामध्ये एक मानिएको समुद्रमा आधारित परमाणु प्रतिरोधात्मक क्षमता विकास गर्ने लक्ष्यसहित देशले आधुनिक पनडुब्बी तथा ब्यालिस्टिक र क्रुज मिसाइलको विकासलाई तीव्रता दिँदै आएको छ ।
केसीएनएका अनुसार उत्तर कोरियाको पूर्वी तट नजिकै समुद्रमा वरिष्ठ सैन्य अधिकारीहरूको उपस्थितिमा मिसाइल प्रहार गरिएको थियो । परीक्षणले छिमेकी राष्ट्रहरूको सुरक्षामा कुनै प्रतिकूल असर नपारेको दाबीसमेत उत्तर कोरियाले गरेको छ ।
दक्षिण कोरियाली संयुक्त सेना प्रमुखको कार्यालयले प्रक्षेपणको अनुगमन गरिएको जनाएको छ । उसका अनुसार एउटा क्रुज मिसाइल पनडुब्बीको ठाडो प्रक्षेपण प्रणालीबाट र अर्को टर्पिडो प्रक्षेपण नलीबाट प्रहार गरिएको आकलन गरिएको छ ।
सार्वजनिक गरिएका तस्बिरका आधारमा दक्षिण कोरियाली रक्षा विश्लेषकहरूले उक्त परीक्षण उत्तर कोरियाले सन् २०२३ को सेप्टेम्बरमा सार्वजनिक गरेको डिजेलबाट चल्ने ‘किम कुन ओक हिरो’ नामक परिमार्जित पनडुब्बीबाट गरिएको हुन सक्ने बताएका छन् ।
ठाडो प्रक्षेपण प्रणालीले टर्पिडो नलीको तुलनामा छोटो समयमा धेरै मिसाइल प्रहार गर्न सक्ने क्षमता प्रदान गर्छ । यसले विपक्षी पक्षलाई पूर्वचेतावनी दिने समय घटाउन सक्ने र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनलाई थप चुनौतीपूर्ण बनाउन सक्ने रक्षा विश्लेषकहरूको भनाइ छ ।
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ अनुसन्धानकर्ता होङ मिनका अनुसार उत्तर कोरियाले यस गतिविधिलाई सामान्य परीक्षण नभई नियमित परिचालन तयारीको निरीक्षणका रूपमा प्रस्तुत गरेको छ । यसले उक्त पनडुब्बीलाई पूर्ण सैन्य तैनातीको दिशामा अघि बढाइएको सङ्केत गर्न सक्ने उनको विश्लेषण छ ।
रक्षा विश्लेषकहरूले उत्तर कोरियाले निकट भविष्यमै पनडुब्बीबाट प्रहार गरिने ब्यालिस्टिक मिसाइलको परीक्षणसमेत गर्न सक्ने सम्भावना औँल्याएका छन् । यद्यपि, यस्तो परीक्षणको समयबारे आधिकारिक पुष्टि भएको छैन ।