तेहरान । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई सम्भावित सैन्य वा आतङ्कवादी आक्रमण नगर्न चेतावनी दिएका छन्। दुवै मुलुकबाट सम्भावित सैन्य कारबाहीको धम्की आइरहेका बेला शनिबार सर्वोच्च नेताको आधिकारिक वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमार्फत उनले यस्तो चेतावनी दिएका हुन्।
“यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने, त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले नै निर्धारण गर्नेछन्,” वक्तव्यमा उल्लेख छ।
उच्च सैन्य कमान्डरहरूसँग बैठक
सर्वोच्च नेता चयन भएपछि हालसम्म सार्वजनिक रूपमा नदेखिएका खामेनीले इरानका उच्च सैन्य कमान्डरहरूसँग बैठक गरेलगत्तै यस्तो चेतावनी दिएका हुन्।
बैठकमा इरानी सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र इस्लामिक रिभोलुसनरी गार्ड्सका कमान्डर अहमद वाहिदी सहभागी थिए।
मध्यपूर्वमा फेब्रुअरी २८ देखि सुरु भएको युद्धका क्रममा आफ्ना पिता अयातुल्ला अली खामेनीको अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजतबा इरानको सर्वोच्च नेता बनेका थिए। सैन्य नेतृत्वसँग उनको यो पहिलो सार्वजनिक रूपमा जानकारीमा आएको औपचारिक बैठक हो।
आक्रमण भए तत्काल र असीमित जवाफ दिने निर्देशन
वक्तव्यअनुसार खामेनीले सुरक्षा कमान्डरहरूलाई शत्रुपक्षबाट आउने कुनै पनि प्रकारको धम्कीको तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित जवाफ दिन निर्देशन दिएका छन्।
त्यसैगरी, उनले अमेरिका र इजरायलसँग सम्बन्धित भौतिक तथा अभौतिक सम्पत्तिहरूलाई इरानको सम्भावित प्रहारको सूचीमा समावेश गरी अद्यावधिक गर्नसमेत आदेश दिएका छन्।
मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेका बेला युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासहरू तीव्र भइरहेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको युद्धको जवाफमा इरानले पनि क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको थियो।
यसैबीच, युद्धविरामका लागि शुक्रबार कतारी प्रतिनिधिमण्डलले तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ। इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरे पनि त्यसको औपचारिक जवाफ भने दिइसकेको छैन।