अमेरिकामा हिन्दु मन्दिरमा सामूहिक गोलीबारीको धम्की दिने १९ वर्षीय युवक पक्राउ

अमेरिकामा हिन्दु मन्दिरमा सामूहिक गोलीबारीको धम्की दिने १९ वर्षीय युवक पक्राउ

काठमाडौँ । अमेरिकाको इलिनोय राज्यस्थित पेलेटाइनमा धार्मिक स्थलमा सामूहिक गोलीबारी गर्ने धम्की दिएको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा इलिनोयको ओरोरामा रहेको एक हिन्दु मन्दिर सम्भावित आक्रमणको मुख्य निशाना हुन सक्ने आशङ्का प्रहरीले व्यक्त गरेको छ ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार माउन्ट प्रोस्पेक्ट प्रहरीले एक व्यक्तिबाट प्राप्त शङ्कास्पद सन्देशका आधारमा अनुसन्धान अघि बढाउँदै सम्भावित आक्रमण रोक्न सफल भएको हो ।

प्रहरीले शङ्कास्पद सन्देशको स्रोत पत्ता लगाएर अभियुक्तलाई उनको घरबाहिरबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि घरमा गरिएको तलासीका क्रममा एक थान राइफल, गोली भरिएका धेरै म्यागजिन र सयौँ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे सिकागोस्थित भारतीय महावाणिज्य दूतावासले आधिकारिक वक्तव्य जारी गर्दै अमेरिकी सुरक्षा निकायको द्रुत कारबाहीको प्रशंसा गरेको छ ।

दूतावासले ओरोरास्थित एक धार्मिक स्थललाई निशाना बनाउने असफल प्रयाससम्बन्धी खबरबारे आफू जानकार रहेको उल्लेख गर्दै समयमै उचित कारबाही गरेर सम्भावित घटना हुन नदिएकोमा कानुन कार्यान्वयन गर्ने निकायप्रति आभार व्यक्त गरेको छ । साथै, त्यहाँस्थित भारतीय समुदायका सदस्यसँग निरन्तर सम्पर्कमा रहेको र घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

प्रहरीको समयमै भएको कारबाहीले सम्भावित ठूलो मानवीय क्षति टरेको छ । घटनापछि प्रभावित क्षेत्रका धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाइएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!