अमेरिकाको ओरेगनस्थित प्राथमिक विद्यालयमा गोलीकाण्ड, तीन बालबालिकासहित चार जनाको मृत्यु

अमेरिकाको ओरेगनस्थित प्राथमिक विद्यालयमा गोलीकाण्ड, तीन बालबालिकासहित चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको ओरेगन राज्यको बेन्डस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न १६ वर्षीय किशोर बन्दुकधारीको पनि मृत्यु भएको छ।

बेन्ड प्रहरी विभागका प्रमुख माइक क्रान्ट्जका अनुसार बिहीबार दिउँसो करिब १ बजे ती किशोर सिल्भर रेल एलिमेन्टरी स्कुलमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा ५, ८ र ११ वर्षका तीन बालबालिका तथा एक शिक्षकको मृत्यु भएको हो।

प्रहरीका अनुसार एक स्थानीय बासिन्दाले ती किशोरलाई विद्यालयमा प्रवेश गर्दै गरेको देखेका थिए। ती व्यक्ति उनलाई पछ्याउँदै विद्यालयभित्र पुगेपछि गोली हानाहान भएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्नुअघि नै आक्रमणकारीको मृत्यु भएको थियो।

घटनामा सात वर्षका एक बालक र अर्का एक शिक्षक घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रहरीका अनुसार सुरुमा एक अज्ञात व्यक्तिले गाडीमा गोली चलाएको भन्दै आपत्कालीन सेवामा फोन आएको थियो। त्यसको केही समयपछि विद्यालयभित्र एक व्यक्तिले गोली चलाइरहेको जानकारीसहित थप फोन प्राप्त भएका थिए।

घटनापछि विद्यालयलाई लकडाउनमा राखिएको थियो। विद्यार्थी र उनीहरूका अभिभावकलाई सुरक्षित रूपमा पुनर्मिलन गराउन छुट्टै स्थानको व्यवस्था गरिएको थियो। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलका अनुसार अनुसन्धानमा सहयोग गर्न एफबीआईको टोली पनि घटनास्थल पुगेको छ।

गन भायोलेन्स आर्काइभ, एजुकेसन विक र एभरीटाउन फर गन सेफ्टीले सार्वजनिक गरेका घटनासम्बन्धी विवरणको सीएनएनले गरेको विश्लेषणअनुसार, यो घटनासँगै यस वर्ष अमेरिकाका के–१२ विद्यालयमा भएका गोलीकाण्डको सङ्ख्या ३६ पुगेको छ।

बेन्ड–ला पाइन स्कुलका सुपरिवेक्षक स्टेभन कुकले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवार र हिंसाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै समुदायको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।

घटनापछि विद्यालयबाहिर अभिभावक र चिन्तित स्थानीय बासिन्दाको ठूलो भीड जम्मा भएको थियो। प्रहरीका गाडी, एम्बुलेन्स र दमकलसहित ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएका थिए।

विद्यालय नजिकैको एक व्यवसायमा कार्यरत सियरा जोर्डनले सीएनएनसँग कुरा गर्दै घटनास्थलतर्फ तीव्र गतिमा गइरहेका एम्बुलेन्स, प्रहरी र उद्धारकर्मीका गाडी देख्दा आफू स्तब्ध भएको बताइन्। उनका अनुसार एक सहकर्मीले दिउँसो करिब १ बजे गोली चलेको आवाज सुनेका थिए। जोर्डनले घटनालाई अत्यन्तै हृदयविदारक बताइन्।

विद्यालयका विद्यार्थी र कर्मचारीलाई लिएर आएका बसहरू नजिकैको जर्नी चर्चमा स्थापना गरिएको पुनर्मिलन केन्द्रमा पुगेका थिए। चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयसहित बेन्ड–ला पाइन क्षेत्रका सबै विद्यालय शुक्रबार बन्द रहने जनाइएको छ। खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापसमेत स्थगित गरिएका छन्।

ओरेगनकी गभर्नर टिना कोटेकले घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो दिन कुनै पनि समुदायले भोग्न नपरोस् भनेकी छन्। उनले कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्न ओरेगनवासीलाई आग्रह गरेकी छन्।

बेन्डका पूर्वमेयर जेफ इगरले घटनालाई कल्पनाभन्दा बाहिरको भन्दै दुःख व्यक्त गरेका छन्। उनका अनुसार मानिसहरू तुलनात्मक रूपमा सुरक्षित वातावरण र बालबालिकालाई सहज रूपमा विद्यालय पठाउन सकिने विश्वासका कारण बेन्डमा बसाइँ सर्ने गर्छन्। उनले विद्यालयले सुरक्षामा पर्याप्त लगानी गरेको भए पनि यस्तो घटना हुनु स्तब्ध पार्ने विषय भएको बताए।

ओरेगनका सिनेटर रोन वाइडेनले पनि गोलीकाण्डका पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले अमेरिकामा विद्यालयमा हुने बन्दुक हिंसा नियन्त्रणका लागि थप कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!