काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका हुन् ।
सुदूरपश्चिम लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । टोली यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । यता, लुम्बिनी गत संस्करणको उपाधि विजेता टोली हो ।
आजको खेल जित्ने टोलीले सीधै फाइनलमा स्थान सुरक्षित गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । उसले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटरमा भोलि काठमाडौं गोर्खाज र चितवन राइनोजबीच खेल हुनेछ । उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
एनपीएलको फाइनल खेल मंसिर ५ गते हुनेछ ।