अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोक्किए, दुई जना घाइते

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोक्किए, दुई जना घाइते

काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति युपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान आपसमा ठोक्किएर दुर्घटना भएको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् ।

मियामी–डेड फायर रेस्क्युका अनुसार युपीएसको बोइङ ७६७ कार्गो विमान र कोपा एयरलाइन्सको बोइङ ७३७ यात्रुवाहक विमान आपसमा ठोक्किएका हुन् । कोपा एयरलाइन्सको विमानमा १६६ जना यात्रु सवार थिए भने युपीएसको विमानमा चालक दलका सदस्यबाहेक अन्य यात्रु थिएनन् ।

मियामी अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चार निर्देशक ग्रेग चिनले सीबीएस न्युज मियामीलाई दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति करिब ९ः१५ बजे ट्याक्सीवेको चोकमा अवतरण गरिरहेको र उडान भर्ने तयारीमा रहेको अवस्थामा दुई विमानबीच ठक्कर भएको थियो ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा कुनै ठूलो मानवीय क्षति भएको छैन । यद्यपि, मियामी–डेड फायर रेस्क्युको टोलीले घटनास्थलमै सामान्य चोट लागेका दुई जनाको उपचार गरेको जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!