तुइनखोलामा पहिरो रोकथामका लागि दैनिक पाँच घण्टा सडक बन्द हुने

तुइनखोलामा पहिरो रोकथामका लागि दैनिक पाँच घण्टा सडक बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए ।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो ।

पहिरो रोकथामका क्रममा ठूला ढुङ्गा पन्छाएर भिरको भिरालोपन व्यवस्थापन गर्ने, किला तथा रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ । त्यसैगरी, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ प्रविधिसमेत अपनाइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः अघि बढाउन लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि आवागमन सहज बनाउन काम रोकिएको जानकारी दिए ।

शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था छ । काठमाडौं–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ ।

सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!