काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।
आज दिउँसो देशका हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।