Saturday, July 25, 2026
Homeअन्तरवार्ता‘१६ महिना हलो जोतें, पछि केपी ओली आउनुभयो’

‘१६ महिना हलो जोतें, पछि केपी ओली आउनुभयो’

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपाने झापा आन्दोलनदेखिकै एमालेका पुराना नेता हुन् । दोस्रो पुस्ताका नेताले माधव नेपालको साथ छाडे पनि न्यौपानेले चाहिँ अन्तिमसम्म साथ छाडेनन् र एकीकृत समाजवादी पार्टीमा आवद्ध भए ।

माधव नेपाल नेतृत्वको पार्टीको भविष्य खासै राम्रो नहुने एमालेका नेताहरुले आरोप लगाइरहँदा एमालेका पुराना नेता न्यौपानेको विश्लेषणचाहिँ के छ ? तत्कालीन माले बनाउँदा सीमित व्यक्तिहरु मिलेर भूमिका खेलेका न्यौपानेसँग रातोपाटीले एकीकृत समाजवादी पार्टीको औचित्य र आगामी कार्यनीतिबारे जिज्ञासा राखेको छ ।

न्यौपाने बाराको प्रतिनिधित्व गर्दै तीनपटक सांसद भए । एकपटक मन्त्री भए । १६ बर्ष जिफन्टको अध्यक्ष भए । एमाले नेता विष्णु रिमालसमेत जिफन्टमा एक समय न्यौपानेका कार्यकर्ता थिए ।

पार्टीमा यति पुरानो भूमिका भैकन पनि नेता न्यौपाने पार्टी बाहिर खासै चर्चामा नआएका नेता हुन् । पार्टीभित्र जति चर्चा र परिचय छ, प्रायः सबैले उनलाई बाराका एमाले नेता भनेर चिन्छन् । तर, न्यौपानेको ‘सेक्रेट’ के हो भने उनी केपी ओलीकै समकालीन झापाली हुन् ।

नेपालमा कम्युनिस्ट पार्टीको साख जोगाउन र मुलुकलाई समाजवादको दिशामा अघि बढाउन केपी ओली असफल भएकाले नै नयाँ पार्टी गठन गर्नुपरेको न्यौपानेको तर्क छ । तर, एमाले र एकीकृत समाजवादीका बारेमा चर्चा गर्नुपूर्व न्यौपानेको ‘सेक्रेट’ बाटै अन्तरवार्ताको थालनी गरौं–

तपाई सुरुमा कसरी कम्युनिस्ट हुनुभयो ?

पहाडबाट म ०२४ सालमा झापा झरेँ । त्यसबेला १५÷१६ बर्षको थिएँ । झापामा दिनहुँजसो जुलुस हुन्थ्यो । त्यो जुलुसमा म पनि जान थालें । त्यसक्रमा कम्युनिस्टले पो देश र जनताको हित गर्नेरहेछन् भनेर म कन्भिन्स भएँ ।

तपाई झापाको मान्छे, पछि बारा जिल्लालाई नै आफ्नो राजनीतिक कर्मथलो बनाउनुभयो । झापा विद्रोहपछि केपी ओली पनि रौतहट आएर त्यहीँबाट पक्राउ पर्नुभएको थियो । त्यसबेला झापाबाट यसरी बारा–पर्सातिर आउनुको कारणचाहिँ के थियो ?

संगठन विस्तारकै क्रममा यसरी स्थान परिवर्तन भएको हो । झापा विद्रोहका बेला मोहनचन्द्र अधिकारी र म एकै ठाउँ थियौं । झापामा जब धर्मप्रसाद ढकाललाई उनीहरुले मारेपछि सीपी मैनालीहरु पारि छिरेछन् । धर्म ढकाललाई मारेपछि पार्टीमा दुईलाइन संघर्ष भयो । व्यक्ति मार्ने कुरा क्रान्ति होइन भन्ने र त्यही नै क्रान्ति हो भन्ने ।

त्यसबेला चीनले नौ बुँदे सुझाव पनि पठाइसकेको थियो । व्यक्ति हत्या हो भन्नेमा म, मोहनचन्द्रहरु भयौं । यो मुद्दापछि झापामा बसेर राष्ट्रिय पार्टी बन्दैन भनेर मलाई मोहनचन्द्रले नारायणी अञ्चलको सम्पर्क दिनुभयो । मोहनचन्द्रका बुवा पहिला भन्सारमा काम गर्नुहुँदोरहेछ । नारायणीमा उहाँका अरु नातापाता पनि रहेछन् ।

बारामा तपाईले कसरी काम गर्नुभयो ? केपी ओली कसरी आइपुग्नुभयो ?

त्यसपछि म बारामा आएर १६ महिना हलो जोतेर बसें । थारु गाउँमा हलो जोतेर बिस्तारै संगठन विस्तार गरेँ । भारतको आसामबाट विस्थापित भएर आएको भनेर आफूलाई चिनाएँ ।

तीन महिनापछि केपी ओली आउनुभयो । उहाँसँग वीरगञ्जमा घनेन्द्र बस्नेतको डेरामा भेट भएको हो । घनेन्द्र बस्नेत त्यसबेला भूमिसुधारमा काम गर्नुहुन्थ्यो ।

त्यसैक्रमा संगठन गर्दै अघि बढ्दा मोहनचन्द्रसँग पछि फेरि मेरो कुरा मिलेन । उहाँ उल्टिसक्नुभएछ । खेत रोप्नुभएछ दुई महिना । तर, खेत रोपेको खाना मात्रै दिएछन्, ज्याला दिनएनछन् । पैसा नदिएपछि जमिन्दारलाई काट्नैपर्छ भनेर भन्न थाल्नुभयो । यसमा हाम्रो झगडा नै भयो । त्यसपछि कृष्णप्रसाद भण्डारीलाई माधव नेपालले सम्पर्क गराइदिनुभएछ र उहाँ रौतहट पुग्नुभयो, त्यहीँ समातिनुभयो ।

एमालेमा यति धेरै दुःख गर्नुभएको पुरानो नेता,  अहिले छुट्टिएर माधव नेपालसँगै नयाँ पार्टी गठन गर्नुभएको छ, कस्तो महशुस भैरहेको छ ?

नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाइराख्न नयाँ पार्टी आवश्यक भयो । त्यो महशुस गरेर नै नेकपा एकीकृत समाजवादी गठन भएको हो । तर, अब हामीसँग चुनौतिहरु र अवसर पनि थपिएका छन् । चुनौती र अवसर दुवैलाई सही ढंगले उपयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ।

नेकपा एकीकृत समाजवादी कस्तोखालको पार्टी हो ? यो किन आवश्यक भयो ?

नेकपा माले र एमाले हुँदै हामीले लामो समय राजनीति गर्यौं । पछिल्लो समय हाम्रै पार्टीको सरकार थियो । २०७४ मा चुनाव भयो, २०७५ नेकपा एमाले र माओवादी मिलेर नेकपा बनायौं । झण्डै दुई तिहाइको सरकार बन्यो । तर, त्यो सरकार जनभावना र घोषणापत्र अनुसार चलेन । नेकपाको घोषणापत्रमा स्याउ छरियो ।

त्यसबेला जनताले साँच्चैका स्याउ नै हुन् कि भन्ने ठानेका थिए । तर, केपी शर्मा ओलीको नेतृत्वको सरकार जसरी अघि जानुपथ्र्यो, अध्यक्ष समेत भएकाले जसरी पार्टी अगाडि बढाउनुपथ्र्यो त्यो पटक्कै बढेन अघि जान सकेन । मार्क्सवादका मूल्यमान्यता मात्रै होइन, राज्यले पालना गर्नुपर्ने केही पनि पालना भएन ।

राज्य, जनता र सरकार के हो ? राष्ट्र के हो भन्ने कुरा सवै बिर्सियो । यो अवस्था आएपछि अब केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टी पनि अघि बढ्न सक्दैन र राष्ट्रको विकास निर्माण पनि हुन सक्दैन भन्ने निष्कर्षमा हामी पुग्यौं । कम्युनिस्ट पार्टीको साख जोगाउन पनि हामी अलग हुनुपर्छ भन्ने बुझेर नै हामी अलग भएका हौं ।

नेकपा (एकीकृत समाजवादी) ले कम्युनिस्ट पार्टीको साख जोगउला त ? यसले लिने अबको बाटो कस्तो हुन्छ ?

जोगाउँछ । संविधानले जे कुरा व्यवस्था गरेको छ, जुन भावना समेटेको छ, त्यसलाई आत्मसात गरेर समाजलाई रुपान्तरण गर्छ । २०६३ साल बैशाख ११ गते देशभरका जनता जसरी राजतन्त्रको अन्त्य र गणतन्त्रका लागि उर्लिए, त्यो किन थियो भन्दा समाजवादका लागि ।

मुखले भन्दैमा र गीत गाउँदैमा समाजवाद आउँछ र ?

आउँदैन । समाजवाद लागु गर्न सबभन्दा पहिला दलाल पुँजीवादमाथि नियन्त्रण गर्नुपर्छ । दलाल पुँजीपति वर्गले नेपालमा कमाउने र विदेशमा सम्पति राख्ने गरिरहेका छन् । खोज्दै जानुभयो भने ठूला–ठूला पुँजीपति वर्गले यहाँ कमाएर अरु देशमा गएर उद्योग कलकारखाना, व्यवसाय खोलेका छन्, यहाँ लगानी गर्दैन्न् । तर, हाम्रो मुलुक २० औं बर्षदेखि जस्ताको त्यस्तै छ ।

दोस्रो– कालो धनको राष्ट्रियकरण गर्नुपर्छ । जोसुकै सरकार आओस्, जबसम्म कालो धन राष्ट्रियकरण गरिँदैन, यो मुलुकमा समाजवादको कल्पना नगरे हुन्छ ।

तेस्रो–मध्यम पुँजीपति वर्गलाई कमजोर बनाउने र धनाढ्यहरुलाई स्थपित गर्ने विश्व बैंकको जुन योजना छ, जी–सेभेन भनेर जे गरिँदैछ, यो मध्यम वर्गको पुँजी कब्जा गर्ने नीति हो । साना र मझौला बैंकहरुलाई ठूला बैंकमा मर्जर गरिदिने । किनभने, साना मझौला र मध्यम वर्गले ऋण नै लिन नसकोस् भनेर यसो गरिँदैछ ।

पुँजीको मालिक उद्योपतिलाई होइन, बैंकलाई बनाउने, पुँजीलाई  एकीकृत गर्ने र मध्यम वर्गलाई गरीव वर्गमा झारेर कम्पनीतन्त्र, धनाढ्यतन्त्र र निरंकुशतन्त्र चाहेको हो जी–सेभेनले । तीनवटा तन्त्र खडा गर्न चाहान्छ जी–सेभेन । धनाढ्य जो छ, उसलाई आफ्नो वरिपरि गोलबद्ध गरेर खडा गर्ने, लगानी गरेर त्यसलाई चुनाव जिताउने र त्यसलैलाई प्रजातन्त्र र बहुदलका नाममा निरंकुश बनाउनेतिर अबको दुनियाँ जाँदैछ ।

यसले गर्दा हामी कम्युनिस्ट र समाजवाद भनेर अघि जान्छौं भने सबैभन्दा पहिला नागरिकलाई सचेत पार्नुपर्छ । आफ्नो राष्ट्रियता, मध्यम पुँजीपति वर्गको संरक्षण, श्रमिकहरुको उत्थान र संरक्षण अनिवार्य छ । त्यो भनेको उत्पादनमा बृद्धि, व्यापारमा विस्तार, आयातमा कटौति र जनताको जीवनस्तर उन्नत वा सम्मृद्ध बनाउने हो ।

अमेरिका वा चीन जानुस्, यी चारवटा काम गरेर उनीहरु संसारमा हाईहाई भएका छन् । तर, आज हामी भारतबाट साढे आठ खर्बको आयात गर्छौं । २५ अर्बको त तरकारी र फलफूल मात्रै आउँछ । ४० अर्बको चामल, १७ अर्बको खानेतेल मात्रै आउँछ भने चार अर्बको माछामासु ल्याउँछौ ।

यसरी बाह्य निर्भर हुनुपरेको अवस्था छ । यस्तो अवस्थामा उत्पादनमा बृद्धि गरेर आयात कटौती गर्ने सरकार चाहिन्छ नेपाल बनाउन । मुलुकलाई आत्मनिर्भर बनाउन त्यही किसिमको योजना र कार्यान्वन चाहिन्छ ।

तर, तपाईहरुले फरक पार्टी बनाउनेवित्तिकै यस्तो आमुल परिवर्तन सम्भव छ र ? जबकि तपाईहरुको पार्टीको विचार र सिद्धान्त नै अलमल छ भन्छन् विरोधीहरु ?

हामीसँग नीति, विचार र सिद्धान्त सबै छ । नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेको जनताको बहुदलीय जनवाद, अहिले पनि हाम्रो सिद्धान्त त्यही हो । जनताको बहुदलीय जनवाद भनेको दलाल पूँजीपति वर्गको जनवाद भनेको होइन ।

जनताको बहुदलीय जनवादले जनताको समृद्धिका लागि अघि मैले माथि भनेका चारवटा कुरालाई समेट्छ । हाम्रो देशमा तीन प्रकारका संरचना र सरकार छन् । स्थानीय निकायलाई आत्मनिर्भर होऊ, आफ्नो तहमा जे उत्पादन हुन्छ, फलफूल, जडिबुटी, सागपात उत्पादन गर, त्यसका लागि हामी बजेट दिन्छाैं, जसले ५ बर्षमा आत्मनिर्भर हुनसक्छ, त्यसको बजेट बढोत्तरी हुन्छ, जसले सक्दैन, त्यसको कटौती हुन्छ । यो घोषणा गर्नसक्नुपर्छ । मैले यो कुरा केपी ओली प्रधानमन्त्री हुँदा लेखेर नै दिएको थिएँ, तर कार्यान्वयन गरेनन् ।

नयाँ पार्टी खोलेपछि क्रान्तिकारी र राष्ट्रवादी देखाउने होडवाजी चल्ने गर्छन् । जब चर्का कुरा गरेर पार्टीहरु सत्तामा पुग्छन् अनि उहीँ पुँजीपति वर्गकै सेवामा लागेका धेरै उदाहरण छन् । तपाईंहरुको पार्टी पनि त्यस्तै नहोला र भिन्न होला भन्ने के आधार छ ?

मुख्य कुरा सिद्धान्त हो । मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई मानेर गएपछि र सोही सिद्धान्तलाई कार्यान्वयन गरेपछि परिवर्तन सम्भव छ । त्यसका लागि हामी प्रतिवद्ध हुनुपर्छ, हुन्छौं । आज पहाडका ७० प्रतिशत खेतवारी बाँझै छन् । ४५ लाख मान्छे विदेशमा छन् ।

राज्यले जनता र राष्ट्रप्रतिको दायित्व बिर्संदा देश आत्मनिर्भर हुन सक्दैन । क्युवाको उदाहरण हेर्नुभयो भने अहिले त्यहाँ ५ लाख हलगोरु छन् । त्यहाँ ट्रयाक्टर विस्थापित भयो । सन् १९८० वाट ट्रयाक्टर विस्थापित गर्न थालेको हो क्युवाले । ट्रयाक्टरले घाँस खाँदैन र गोबर दिँदैन भन्ने नारा नै ल्यायो । त्यसकारण सम्पूर्ण अर्गानिक र उत्पादन बढाउने हो भने त्यसबाट पाठ सिक्नुपर्छ । मार्क्सवादी भएर मात्रै पनि हुँदैन, आफ्नो देशको विषेशतामा नेपाली पनि हुनुपर्यो, स्वावलम्बी पनि हुनुपर्यो ।

मुलुकलाई समाजवादमा पुर्याउने नेकपा एकीकृत समाजवादी पार्टीको रोडम्याप चाँही के हो ?

पहिलो कुरा त हामी हाम्रो पार्टीको सुदृढीकरण गर्छौं । पार्टी कमिटीलाई तल्लो तहसम्म पुर्याएर ती पार्टी कमिटीमार्फत जनतामा जानकारी गराउँछौं । किनभने, भर्खर पार्टी गठन गरेका छौं । हिजो हामी जोसँग छुट्टियौं त्यसैसँग लडाइ गर्नुपर्नेछ । उसले पनि मार्र्सवादी लेनिनवादी हामी पो पक्का हौं भन्छ ।

मार्क्र्सवादले भविश्यमा हुने भुलबाट बच्न विगतका भुलबाट सिक भन्छ । त्यसकारण हाम्रो पहिलो समीक्षा केपी ओली नेतृत्वको सरकार बनेयता भएका कमिकमजोरीहरु के–के हुन् ? किन दुईतिहाई भएको सरकार टिक्न सकेन ? किन दुई–दुई पटक संसद भंग भयो ? यत्रो ठूलो पार्टी किन लथालिङ भयो ?  नेता किन निरंकुश भए ? यी कुराको विश्लेषण गरेर हामी सच्चाउने प्रयत्न र अठोट गर्छौ ।

कसरी सच्चाउनुहुन्छ ?

व्यवहार परिवर्तन गरेर सच्याउँछौं । विगतमा कस्ता–कस्ता प्रवृत्ति देखिए ? त्यो प्रवृत्तिले के–के नोक्सान भयो ? गल्ती गरेका छौं भने हामीले पनि आत्मालोचना गर्नुपर्यो । तलैसम्म गल्ती दोहोरिनुहुँदैन भनेर बुझाउन प्रशिक्षित गर्न सक्नुपर्यो । सुदृढीकरण, शुद्धीकरण र विगतको भुलको समीक्षा सँगसँगै गर्दै लैजान्छांै । हिजो केपी ओलीले कुन–कुन कुरामा अशुद्ध बनाए ? त्यसलाई सफा गर्नु अनिवार्य छ ।

तपाईले अघि दलाल पुँजीपति वर्गको कुरा पनि गर्नुभयो । पार्टीलाई क्रान्तिकारी बनाउँछौं भन्दै गर्दा तपाईहरुको सहकार्य त हाम्रो देशमा दलाल पुजीँपति वर्गकै संरक्षण गर्ने भनेर चिनिएको काँग्रेससँग सहकार्य भइरहेको छ, अनि कसरी समाजवादको लक्ष्य पूरा गर्नुहुन्छ त ?

दलाल पुँजीपति वर्गको बढी नजिक रहेको पार्टी काँग्रेस हो भनेर हामीले भन्दै आएका हौं । तर, त्यस पार्टीमा दलाल पुँजीपति वर्गमात्रै छैन, मध्यमवर्ग पनि छ । तर, अहिले यसअघिको हाम्रै नेकपा एमाले काँग्रेसभन्दा बढी दलाल पँुजीपति वर्गको घेरामा पर्यो । यतिसम्म कि २५२ जनालाई बोलाएर नेकपा एमालेमा प्रवेश गराइयो । त्यहाँ कुन वर्गका थिए भन्दा दलाल पुजिँपति बर्गको सबभन्दा ठूलो हिस्सा थिए । शेरबहादुर देउवा छोडेर किन ओलीतिर गए त उनीहरु ?

तपाईहरु सरकारमा जान खुट्टा उचालेर बस्नुभएको छ, कहिलेसम्म  र कसको नेतृत्वमा सामेल हुँदैहुनुहुन्छ त ?

हामी जतिसक्दो छिटो सरकारमा जान्छौं । अबको ५ दिनभित्र सरकारले पूर्णता पाउँछ । हाम्रोबाट ५ जना फूलमन्त्री पठाउने सहमति भएको छ । तर, कसको नेतृत्वमा भन्ने कुरा छलफलकै विषय छ ।

सरकारमा कस्ता मान्छे पठाउँदै हुनुहुन्छ ?

सरकारमा जाने भनेका जननिर्वाचित प्रतिनिधि नै हो । तर, सरकारमा जानेहरुलाई निरन्तर प्रशिक्षण दिने र विगतमा भएका नराम्रा कुराले जसरी कम्युनिस्टको बद्नाम भएको छ, त्यो हुनुहुँदैन भनेर सचेत गराउँछौं ।

कुन कुन मन्त्रलाय लिने सहमति भएको छ ?

त्यसबारे अहिलेसम्म सहमति भैसकेको छैन । छलफलकै क्रममा छ ।

उपसभामुख पनि नेकपा एकीकृत समाजवादीले मागेको हो ?

त्यो मलाई थाहा छैन ।रातोपाटीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका