‘बाहुन नानी तिमीलाई के चाहियो ? अनसन गरेर किन ज्यान गुमाउन खोजेको ? भन मलाई !’ राजा त्रिभुवनले आफ्नो राजपरसादमा बोलाएर भलाकुसारी गरिरहँदा रघुनाथ ठाकुर ‘मधेसी’ अनसनबाट यति थकित र कमजोर भइसकेका थिए कि उनले महाराजधिराजको प्रश्नलाई लिखित जवाफ मात्र जुनाफमा टक्राए। राजा त्रिभुवनले दरबार प्रवेश गर्न कुनै डर तथा कठिनाई पनि भयो भन्ने अर्को प्रश्न सोध्दा भरखरै जुँगा पलाएका रघुनाथले महाराजलाई भने यसपाली उत्तर दिए, ‘बिल्कुलै होइन महाराज ! बरु दरबार प्रवेश गरेपछि मलाई झन् साहस बढेर आयो। प्राणको आहुति दिने मानिसलाई डर लाग्दैन महाराज।’ यो प्रसंग २०१० सालको हो अर्थात् राजा त्रिभुवनको देहान्त हुनुभन्दा ठीक एक वर्ष पहिले !
नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले सुदूरपहाड र मधेसका शोषित पीडित विद्यार्थीहरूको लागि दिइने छात्रवृत्तिमा घोटाला गर्दै आएको तथ्यगत सुइको पाएपछि सुनसरी हरिनगराका रघुनाथ ठाकुरले राजदरबारको अगाडि अनसन गरेका थिए। फलस्वरूप उनले प्रवीणता प्रमाणपत्र पढ्न भारतको वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा छात्रवृत्ति पाए। नेपालको इतिहासमा कुनै मधेसीले विदेशको विश्वविद्यालयमा पाएको सम्भवतः यो नै पहिलो छात्रवृत्ति हो। वनारसमा उनी यही छात्रवृत्तिमा डिप्लोमाको अन्तिम वर्षसम्म अध्ययन गरे। पढ्दा पढ्दै २०१५ सालमा एउटा पुस्तक लेखे जसको नाम थियो, ‘परतन्त्र मधेस और उसकी संस्कृति।’ त्यतिबेलासम्म मधेसीलाई आफ्नो मुलुकको नागरिकभन्दा भारतीयजस्तो व्यवहार गरेकाले यही फिराद लिएर उनी राजा त्रिभुवनको राजदरबारको अगाडि अनसन गर्न पुगेका थिए।
तराईमधेसको राजनीतिक वृत्तमा मात्र होइन, सिंगो नेपालीय लेखन परिवेशमा रघुनाथ ठाकुर थोरै मात्र व्यक्तिमध्ये पर्छन् जसले यतिको गम्भीर प्रकृतिका पुस्तक लेखेका छन्। नेपाली भाषा र राजनीतिक साहित्यमा विलक्षण प्रतिभाहरूले ठूल्ठूला रचनाहरू गरेको देखिन्छ भने तराईमधेसमा एसएलसी पनि हिन्दीमा नै पास गर्नु परेकाले मातृभाषाको साहित्य गौण थिए। मातृभाषाको ठाउँमा हिन्दीले वर्चश्व प्राप्त गरेको थियो। तराईमधेसमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीहरू भारतमा अध्ययन गर्थे भने थोरैमात्र नेपालमा भर्खर स्थापना हुन लागेका कलेजमा भर्ना हुन्थे। त्यसैले स्वाभाविक रूपमा हिन्दीले वर्चश्व कायम गरेको थियो जसमा रघुनाथ ठाकुर मधेसीले आफ्नो छोटो जीवनकालमा आधा दर्जन जाति पुस्तक लेखे जो आफैंमा एउटा मिसाल हो। उनको लेखनीलाई तुल्नात्मक अध्ययन गर्ने हो भने भारतमा राष्ट्रिय ख्यातिप्राप्त कतिपय हिन्दीका साहित्यकारहरूको समकक्षीय भाषा शैली भेटिन्छ। उनले कोरेका पर्चाहरू पनि उन्नतस्तरको हैसियत प्राप्त गरेको देखिन्छ। अर्थात् रघुनाथ ठाकुर मधेसी उम्दा प्रकारका एक लेखक थिए भन्ने कुरामा कसैको दुई मत हुन सक्दैन।
उनले बाँचेको जीवन
सन् १९३४ को यही जुलाई महिनामा जन्मेका बेजोड प्रतिभाका धनी रघुनाथ ठाकुर मधेसी धेरै लामो जीवन जिउन सकेन। ४७ वर्षको अल्पायुमै पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले विरोधीहरूलाई यो संसारबाट सिध्याउने अभियानको क्रममा नेपाली कांग्रेसका नेता सरोज कोइरालालाई मारेजस्तै उनलाई पनि हत्या गरे। फरक यति थियो कि कोइरालालाई भारतको मधुवनीमा गोली हानिएको थियो भने रघुनाथ ठाकुरालाई षडयन्त्रमूलक ढंगबाट विष खुवाएर फोरबिसगन्जमा मारिएको थियो। त्यसैले उनले बाँचेको जीवन छोटो भए पनि नवनिर्माणको दृष्टिकोणले मधेसी साहित्यको सिर्जनमा ठूलो योगदान पुर्याएका छन्। सम्भवतः मधेसी राजनीतिक साहित्य लेखनीको सुरुआत नै रघुनाथ ठाकुरबाट भएको हो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। मधेस र मधेसीको हक र अधिकारको प्रत्याभूति नेपाली कांग्रेसबाट सम्भव हुन नसक्ने देखेपछि मधेसका केही कांग्रेसी नेताले २००८ सालमा नेपाल तराई कांग्रेसको स्थापना गरेका थिए। तर स्थापित राजनीतिक पार्टीले सैद्धान्तिक र वैचारिक रूपमा साहित्यको सिर्जन गर्न नसकेकाले मधेसी समाजमा नेपाली कांग्रेस र तराई कांग्रेसबीचको मूलभूत राजनीतिक भिन्नतालाई कोट्याउन सकेनन्। फरक पार्न सकेनन्।
फलस्वरूप २०१५ सालको आमनिर्वाचनमा तराईमधेसमा नै तराई कांग्रेसको पत्ता साफ भयो। त्यही वर्ष प्रकाशित रघुनाथ ठाकुर मधेसीको पुस्तक परतन्त्र मधेस और उसकी संस्कृतिले भने प्रष्ट रूपमा निर्वाचन वहिष्कारको पक्षमा वकालत गरेको पाइन्छ। आफ्नो पुस्तक परतन्त्र मधेस और उसकी संस्कृतिमा उनी लेख्छन्, ‘जबसम्म मधेसी समस्याको समाधान हुँदैन त्यतिबेला निर्वाचनमा भाग लिनु मधेसी जनतालाई धोका दिनुसरह हो।’ वास्तवमा नेपाली कांग्रेसप्रति उनी अत्यन्तै आक्रामक थिए। उनको के सोच थियो भने नेपाली कांग्रेसको कारण मधेसले मुक्ति पाइरहेका छैनन्। यसको सबैभन्दा ठूलो जिम्मेवार कांग्रेस हो। त्यसैले २०१७ सालमा राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारलाई घोक्रेट्याक लगाए पनि उनी हर्ष न विस्मात्को अवस्थामा थिए। यद्यपि पारिवारिक रूपमा उनको साखै दाजु विष्णुकान्त ठाकुर राज्यसभाको सल्लाहकार समितिका सदस्य थिए।
बौद्धिक विद्रोही नेता
रघुनाथ ठाकुर मधेसीको सन्दर्भमा नकारात्मक प्रचार प्रसार भएको पाइन्छ। उनले लेखेको पुस्तकमा विखण्डनको गन्ध आउँछ भन्नेहरू पनि छन्। तर वास्तविक रूपमा उनी सच्चा राष्ट्रवादी सोचका व्यक्ति थिए। परिस्थितिले विद्रोही बनाएपछि उनले उग्ररूप धारण गरे। तर जहिले पनि अहिंसात्मक आन्दोलनको पक्षमा नै वकालत गरे। विराटनगरबाट उनको सम्पादनमा प्रकाशित पत्रिका राजहंस यसको ज्वलन्त प्रमाण हो। उनी महामना तथा जैन धर्मका प्रवर्तक महवीर वद्धर्मानको उदाहरण दिँदै भन्थे, ‘महावीरले जहिले पनि अहिंसाको नै वकालत गरेका छन् तर आफ्नै ज्यानमाथि खतरा आएपछि उसले प्रतिरोधको बाटो अपनाउनु पर्छ र त्यो कहिलेकाँही हिंसात्मक पनि हुन जान्छ भन्ने उनको सोच थियो। उनले मधेसी समाजलाई सजग बनाउने क्रममा प्रयोग गरेको गान्धीवादी अस्त्रलाई निरंकुश पञ्चायतका पृष्ठपोषकहरूले पचाउनै सकेनन्। उनको विद्रोही स्वभावलाई जहिले पनि अराष्ट्रिय तŒवको रूपमा हेरेकाले अन्ततोगत्वा उनले ज्यान गुमाउनु पर्यो।
आखिर उनले कुनै सेना गठन गरेका थिएन। उनीसँग कलमबाहेक केही थोक थिएन। हरेक कुराको जवाफ उनी पुस्तक वा पुिस्तका लेखेर दिन्थे। तुरुन्ता तुरुन्त दिनु पर्यो भने पर्चा लेख्थे। हतियारको कुरा कहिल्यै गरेनन् किनकि उनी भारतीय नेता डा. राममनोहर लोहियाका अनुयायी थिए। जो स्वयं पनि गान्धीवादी भए पनि महाविर वद्र्धमानको सिद्धान्त अनुसरणमा नै आफ्नो र आफ्नो कामको जीत हुने विश्वास गर्थे। उनको कमिजको अगाडिपट्टिको खल्तीमा विभिन्न प्रकारका एक दर्जन कलमले पनि के पुष्टि गर्दछ भने उनी आफ्नो लेखनीबाट नै तत्कालीन सत्ताको निन्द हराम गरेको थियो।
उनको तर्कमा दम थियो। उनी भन्थे, मधेसीलाई भारतीय किन भनिन्छ ? पहाडी नेपालीजस्तो व्यवहार किन गरिन्न ? राज्यसत्ताको अंगमा मधेसीको सहभागितालाई किन न्यूनीकरण गरिएको हो (?) जस्ता प्रश्नले तत्कालीन सत्ता आँतिएको थियो। आफ्नो अधिकार माग्नेहरूलाई अराष्ट्रिय तŒवको बिल्ला भिडाउने पञ्चायती सत्ताको अचूक हतियार थियो। यसप्रकारको अस्त्रको प्रयोग उसले आफ्ना प्रायः सबै विरोधीको हकमा गर्थे। अर्थात् पञ्चायती शासनकालमा अराष्ट्रिय तŒव एउटा थेगो नै बनिसकेको थियो।
वास्तवमा २०६४ सालमा भएको मधेस जनविद्रोहको भविष्यवाणी उनले आजभन्दा ६ दशक पहिले नै गरेका थिए। उनले लेखेका किताबहरू अध्ययन गर्ने हो भने ती घटित घटनाहरूको भविष्यवाणी पाइन्छ। उनको यसप्रकारको सोचका कारण सरकारले गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। तर कहिल्यै पनि उनी गिरफ्तार भएनन्। फलस्वरूप स्थानीय प्रशासनले उनीविरुद्ध विभिन्न प्रकारका लान्छना लगाउने दुष्प्रयास गरे। कैयौं साथीलाई हत्यासमेत गरे। हुँदै नभएको वारदातमा दोषी ठहराउने षड्यन्त्रको संरचना गरे। मधेसी मुक्ति परिषद्, मधेसी सेनाजस्ता भ्रामक कुराहरूको प्रचार गरी रघुनाथ ठाकुरालाई आतंकवादी सिद्ध गर्न पञ्चायती सत्ता भरपूर प्रयास गरेका थिए। कतिसम्म भने भारतको पूर्णिया जिल्लाबाट प्रकाशित पत्रिकाहरूमा रघुनाथ ठाकुरसम्बन्धी गलत समाचार सम्प्रेषण गराई बदनाम गराउने दुष्प्रयास भयो। सरकारको यसप्रकारको हकतलाई ठाडै उनले पर्चाको माध्यमबाट जवाफ दिन्थे।
अन्त्यमा, मूलतः धरतीपुत्र रघुनाथ ठाकुर मधेसी एउटा यस्तो प्रतिभावान् व्यक्ति थिए जसले सन् साठीको दशकमा गरेको भविष्यवाणी पाँच दशकपश्चात् अक्षरशः नेपाली राष्ट्रिय मुक्ति आन्दोलनको अभिन्न अंग बन्न पुग्यो। उनले गरेको भविष्यवाणीलाई खेलाची बताउनेहरूले रघुनाथलाई पागलसम्म घोषणा गरे। तर आफ्नो पागलपनलाई निरन्तरता दिँदै उनले भनिरहे, ‘नेपालमा एक न एक दिन मधेस जनविद्रोह हुनेछ।’ २०६४ सालमा भएको मधेस विद्रोह त्यसैको प्रमाण हो। यिनै महान् भविष्यद्रष्टाको जन्म १९३४ जुलाई महिनामै भएको थियो। श्रद्धासुमन !


